१५ कार्तिक २०८३, शनिबार

 

महरा छुट्लान त आज धरौटीमा ?

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनवाइ हुँदैछ ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ । यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो । बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने बा बदर गर्ने निर्णय गर्ने छ।

उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन् । उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ । उच्चको उक्त आदेशविरुद्ध महरा सर्वोच्च भने जान पाउने छन्।

त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ। जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन्।

संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो । सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्। उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए। उच्चले जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाइ गरेको छैन। तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो।

महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ। आइतबार महरालाई बन्द इजलासमा बकपत्र गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung