बागलुङ जिल्लाको पहिचान कुनै एकै वस्तु वा समुदायका आधारमा मात्र गर्न सहज छैन । प्राचीन सभ्यताको धरोहरले भरिपूर्ण यस क्षेत्रमा अझै अध्ययन–अनुसन्धान हुन बाँकी छ । जसरी कोलम्बसले पत्ता लगाएको अमेरिकामा प्रत्येक महादेशका नागरिक भरिए र आधुनिक अमेरिकाको जग बसाले त्यसरी नै बागलुङमा तत्कालीन बाइसी र चौबीसी राज्यका बासिन्दा बसाइँ सरेर सामुदायिक जीवनशैली स्थापित गरे । विभिन्न जाति र जनजातिले तत्कालीन वर्ण–व्यवस्थामा आधारित रहेर आफ्ना पेसाकर्मलाई निरन्तरता दिए । त्यसले व्यापारसमेत अभिवृद्धि हुन पुग्यो । त्यसैको परिणाम हो– आधुनिक बागलुङको निर्माण र विकास ।
बागलुङको सभ्यता विकासको अध्ययन गर्दा ३ सय वर्षभन्दा अघिको समाजमा पुग्नुपर्छ । त्यति बेला यहाँ क्षेत्री (खड्का), मुस्लिम र वज्राचार्यहरू पाल्पाबाट आएको पाइन्छ । बगाले थापाहरू म्याग्दीको ताकम, थकालीहरू मुस्ताङको थाकखोला र रेग्मीहरू भारतको कुमाउँबाट आएको पारिवारिक विरासत छ ।
त्यसै गरी सापकोटाहरू पश्चिम कर्णलीको सिञ्जा उपत्यका र श्रेष्ठ, राजभण्डारी, प्रधान, शाक्यहरू काठमाडौं उपत्यकाबाट करिब ४ सय वर्षपहिले आएको जानकारी हुन्छ । त्यो समय पनि बागलुङ स्थानीय उत्पादनमा आत्मनिर्भर रहेको पाइन्छ । बागलुङ नेपाली कागज, करुवा, खानीका विभिन्न उत्पादन, घ्यु, मह, भाँगो, आलुसहितका अन्नबालीमा निर्भर थियो ।
राणाकालमा आइपुग्दा विसं १९६५ सालमा बागलुङ बजारको बुद्ध चोकमा मालअड्डा र गौंडा बसेको थियो । मालअड्डामा तिरो तिर्ने र जग्गा पास गर्ने काम हुन्थ्यो । त्यति बेला व्यापारका लागि भलाटोल, नयाँ बजार, नौबिसे टोल, नारायण चोक र देउराली चोक प्रख्यात थिए । राणाकालमा भोला राजभण्डारीले बागलुङ बजारमा प्रशासनिक काम र सामान बेच्न आउने व्यापारी र गाउँलेलाई आवास–खानपानको प्रबन्ध मिलाएका थिए । उनको कार्य व्यापारमुखीभन्दा पनि सेवामुखी थियो । त्यसैले भोलाको प्रसिद्धि अझै पनि यस क्षेत्रमा छ । उनी स्वयं कुशल व्यापारी थिए ।
त्यति बेला बागलुङ बजारमा शाक्य र वज्राचार्यहरूले बनाएको पानी खाने करुवा निकै चर्चित थियो । यस क्षेत्रका व्यापारी कृषिकर्ममा पनि सिपालु थिए । प्रायः सबैका घरमा भैंसी, गाईगोरु, खसीबोका, कुखुरा, खरायो र घोडादेखि हाँससम्म पालिन्थ्यो । मानिसहरू आत्मनिर्भर थिए । त्यसले समग्र बागलुङ आत्मनिर्भर बन्न पुग्यो ।
स्थानीय बासिन्दा आफ्नो परिवारलाई चाहिने सबै सामान भरसक आफैं उत्पादन गर्थे । बागलुङ बजारको किराना पसलमा खुर्सानी, शिलाजित, मकै, धान, आलु, भाँगो, मुलाको धजरा, पिडालुदेखि घ्युसम्म उपलब्ध हुन्थ्यो । बागलुङ बजारमा सबैभन्दा पहिले तत्कालीन प्रधानपञ्च टोपबहादुर बिजुक्छेका बुबाले पोखराबाट कपडा ल्याएर बेच्ने गरेको जानकारी पाइन्छ । पछि उनी बागलुङ बजारमै विवाह गरी स्थायी रूपमा बस्न थालेका हुन् ।
बागलुङ बजारको नारायण चोकमा व्यापार गरेर बसेका ओझाहरूले तिब्बतसँगको लडाइँमा बागलुङ बजार भएर गएका नेपाली सैनिकलाई राम्रो सत्कार गरेकाले उनीहरूलाई साहुखल भन्न थालिएको हो । पाल्पादेखि गंगाप्रसाद श्रेष्ठ बागलुङ बजारमा लाग्ने चैते दसैं र एकादशी मेलामा फोटो खिच्न आउने गर्थे । त्यति बेला बागलुङ बजारमा फोटो खिच्ने अरू कोही थिएन । २०१८ सालमा गंगाप्रसादले नै बागलुङ बजारमा पहिलोपटक फिल्म (सिनेमा) देखाएका थिए ।
बागलुङ बजारमा उद्योग–कलकारखानाको पनि सम्भावना दर्साउँदै उद्योगी लोकनर्सिङ राजभण्डारीले २० र ३० को दशकमा राजभण्डारी राइस मिल, बागलुङ फर्निचर उद्योग र रमेश टुरिङ सिनेमा हल सञ्चालनमा ल्याएका थिए । उनको बेनी बजारमा पनि पसल थियो । त्यो पसल गोविन्दनर्सिङ राजभण्डारीले सम्हालेका थिए । पछि छोरा महेश राजभण्डारीले राधाकृष्ण टोलमा पहिलो पुस्तक पसल स्थापना गरे । लोकनर्सिङको नयाँनयाँ व्यापारिक सोच र छोराछोरीको साथ अनि मेहनतले यो परिवारको आर्थिक जीवनमा ठूलो परिवर्तन आयो ।
मुस्ताङका हितमान शेरचन सुब्बा र उनका छोरा अंगमानसँगको संगतले लोकनर्सिङमा व्यावसायिक विचारको बीजारोपण भएको मानिन्छ । शेरचन परिवारसँग मुस्ताङ, तौलिहवा र भैरहवामा काम गर्न बस्दा त्यहाँको व्यापारिक र औद्योगिक विकासबाट उनी साह्रै प्रभावित भएका थिए । लालचन्द्र राजभण्डारीले विसं २०२२ मा राधाकृष्ण टोलमा लालचन्द्र–सूर्यचन्द्र पुस्तक पसल सञ्चालनमा ल्याए । यो परिवारले बेनी बजारमा पनि पुस्तक पसल चलाएको थियो । २० को दशकमा सुरु भएको पसल लालचन्द्र–कृष्णचन्द्र हुँदै लालचन्द्र–राजेशचन्द्र पुस्तक पसलका रूपमा चलिआएकै ५४ वर्ष भइसक्यो । यो पुस्तक पसलले यस क्षेत्रको शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जागरण र विकासमा ठूलो योगदान पुर्याएको छ ।
विसं १९८५ मा ओमप्रसाद गौचन मुस्ताङको सात सय थाकखोलाबाट व्यापारको सिलसिलामा बागलुङ आएका थिए । उनले १९९३ सालमा नारायण चोकमा सुविधासम्पन्न घर बनाएर कपडा र किराना पसल स्थापना गरे । भित्रै शौचालय भएको यो नै यस क्षेत्रको पहिलो घर थियो । त्यस बेला प्रायः कसैको घरमा शौचालय हुँदैनथ्यो ।
गौचन आफ्नो पसलमा रक्सी, चुरोट, खैनी, बिँडीजस्ता सामान राख्दैनथे । राजनीतिक रूपमा सचेत उनी भारतीय स्वतन्त्रता आन्दोलनका सारथि महात्मा गान्धीबाट प्रभावित थिए । नेपाली राजनीतिका अग्रज बिपी र गणेशमानसँग पनि उनको उठबस थियो । उनमा नेपाली कांग्रेसको राजनीतिक आन्दोलनको प्रभाव थियो ।
गौचन २००७ सालको क्रान्तिपछि यस क्षेत्रमा बनेको सरकारको प्रमुख समेत बनेका थिए । उनी र सहकर्मी मेघकुमार वैद्यले १९९७ सालमा घरेलु उद्योगसहित विद्यामन्दिर नामबाट विद्यालय सञ्चालनमा ल्याएका थिए । उनीहरूले उक्त शिक्षण संस्था सञ्चालन नगरेको भए समग्र धौलागिरि अञ्चल दशकौंसम्म शिक्षाको ज्योतिबाट वञ्चित भइराख्न सक्थ्यो । गौचनले विद्यालयमा पढाइका साथै पुस्तकालय, संगीतकक्षादेखि सीपमूलक अध्ययन–अध्यापनको व्यवस्था गरेका थिए । त्यहाँ विद्यार्थी घर बनाउने, लुगा सिलाउने, फर्निचर बनाउनेदेखि खाना पकाउनेसम्मको सीप पाउँथे । यसै कारण उक्त विद्यालयबाट उत्पादित जनशक्तिले आय आर्जनका कामसँगै रोजगारीको अवसरसमेत पाएका थिए ।
२००१ जेठ २ गते काठमाडौंमा उद्योग परिषद्ले आयोजना गरेको उद्योग प्रदर्शनीमा बागलुङबाट पनि वस्त्रकलासम्बन्धी वस्तुहरू पुर्याइएका थिए । त्यति बेला नेपाल उद्योग प्रदर्शनीका सभापति विजयशमशेरले गौचनलाई पदकसहित सम्मान गरेका थिए ।
२०१४ सालदेखि बागलुङका व्यापारीहरू बेनी, कुस्मा, पोखरा, नारायणघाट, भैरहवा, बुटवल र काठमाडौं गएर त्यहाँको प्रतिस्पर्धामा खरो उत्रिए । अहिले उनीहरू त्यहाँका प्रतिष्ठित व्यापारी, उद्योगी र साहू–महाजन र बैंकर्सका रूपमा परिचय बनाउन सफल छन् ।
हाम्रा पुर्खाहरू गाउँगाउँ गएर लाहुरेसँग सुनचाँदी र किसानसँग घ्यु, धान, चामल, लसुन, भाँगोलगायत सामान किनी तिनलाई व्यापारिक क्षेत्र बुटवल र काठमाडौंसम्म बिक्री गर्न लैजान्थे ।
त्यति बेला पारिवारिक सम्बन्ध विस्तार गर्न मित लगाउने चलन खुब थियो रे । गाउँ र बजारका व्यावसायिक कामलाई मितहरूले सहज ढंगले सम्पादन गरेका कथा हामी अग्रज व्यवसायीहरूबाट सुन्ने गर्थ्याैं । सामान उधारो दिएर बागलुङ र म्याग्दीका गाउँगाउँसम्म पैसा उठाउन जाने चलन धेरै वर्षसम्म चल्यो ।
वर्तमानमा बागलुङसहित समग्र धौलागिरि ऊर्जा, खानी, कृषि, पशुपालन, घरेलु उद्योग, धार्मिक पर्यटन, रेमिट्यान्स र सेवामूलक व्यापारमा ठूलो सम्भावना बोकेको क्षेत्र हो । यहाँका व्यवसायीको मनोबल माथि उठाउने गरी प्रदेश र स्थानीय तहले आर्थिक र व्यावसायिक नीति ल्याउन सके आर्थिक बजार चलायमान् हुनुका साथै बजार थप विस्तार हुने सम्भावना छ ।
साथै ठूला व्यावसायिक परियोजनामा राष्ट्रिय पुँजीपतिहरूलाई आकृष्ट गर्न सके नयाँ रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनले थप बजार पाई सरकारको राजस्वमा वृद्धि हुनेछ । उपभोक्ताले गुणस्तरीय सामान पाउनेछन् । उद्योगी–व्यवसायीले लगानीअनुसारको मुनाफा पाउनेछन् । यस क्षेत्रको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, उद्योगी, व्यापारी, व्यवसायी एवं विदेशमा रहेका धौलागिरिबासीहरू एकजुट भएर यहाँको आर्थिक विकासमा लाग्न आवश्यक देखिन्छ । त्यसका लागि यो महोत्सव एउटा कोसेढुंगा बन्ने विश्वास मैले लिएको छु ।



















































































































































































































