नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धौलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
विश्वमा सभ्यताको विकास नदीहरूबाटै भएको पाइए पनि मानवीय लापरबाहीका कारण गण्डकी सभ्यता संकटमा परेको उनीहरूको भनाइ छ । यसलाइ बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूले जाेड दिए । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीय स्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक–सांस्कृतिक परम्परा, तीर्थस्थल, यहाँको जीवनपद्धति, मूल्यमान्यतालाई उल्लेख गरिएको छ । साथै सभ्यताभित्र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विषय पनि समावेश छन् ।
धौलागिरि समाज नेपालले बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा बागलुङ महोत्सवका अवसरमा आयोजना गरेकाे गण्डकी सभ्यता बचाउ अभियान तथा धौलागिरिका पर्यटकीय पहिचान विषयक अन्तरक्रियाका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्यले कालीगण्डकी नदीको दोहन, शालग्राम शिलाको चोरीनिकासी तथा नक्कली शालिग्रामको कारोबारले धार्मिक संकट पैदा गर्न थालेको बताए । ‘हामीले गण्डकी सभ्यता बचाउन विगतदेखि ठूलो प्रयत्न गरेका छौं,’ प्रपन्नाचार्यले भने, ‘कालीगण्डकी नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा सहरको ढलसमेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको बागमतीजस्तो बन्ने खतरा छ । यसमा हामी सबै समयमै सचेत भएर अभियानमा सरिक हुन आवश्यक छ ।’ शालिग्राम लोप हुन थालेपछि संग्रहालयमा राखिएको उनले बताए ।
यही चासो र चिन्ताका बीच गण्डकी सभ्यता महाअभियान गत वर्षदेखि सुरु भएको छ । कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला–नदीहरूको पनि सरसफाइमा सबैले ध्यान दिनुपर्ने आवश्यकता सहाभागीले औंल्याए । जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन धौलागिरिसहित मुलुकभर अभियान नचलाउने हो भने गण्डकीसँग जोडिएका सबै सभ्यता नाश हुने उनीहरूले बताए ।
कार्यक्रममा गण्डकी सभ्यता बचाउ महाअभियानका सहसंयोजक केदारनाथ गौतमले ‘गण्डकी सभ्यता’ तथा धौलागिरि पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियन्ता खिमानन्द कँडेलले ‘धौलागिरिको पर्यटकीय सम्भावना’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
गण्डकी सभ्यता बचाउन सरकार, सरोकारवाला र नागरिक सबैलाई जिम्मेवारीबोध गराउन गण्डकी सभ्यता बचाऔं महाअभियानअन्तर्गत अन्तरक्रिया गरिएको धौलागिरि समाजका महासचिव गोविन्दप्रसाद शर्माले बताए । ‘एक सय वर्षपछिको गण्डकी सभ्यता हामीले कल्पनै गर्न नसक्ने अवस्थाको हुनेछ,’ उनले भने, ‘आजै पहल थालौं, गण्डकी सभ्यता बचाउन लागौं, यो हामी सबैकाे जिम्मेवारी हो ।’



















































































































































































































