४ जेष्ठ २०८१, शुक्रबार

 

मेरो टोपी कैलाशको शिरजस्तो छैन

- कविता

आफ्नो त
निधारै अक्करे भीरजस्तो
नाम्लोको डाम र ढुङ्गाको खत कुँदिएको।

यो थाप्लामा
पसिना पनि अडिन मान्दैन
लत्रँदै नाकबाट सुकेको ओठ भिज्न आइपुग्छ
म माटो लागेकै हातले पुछिदिन्छु निधार
तिम्रोजस्तो पंखा बनाउन
कहाँ छ र मसँग टोपी !

म बिसु पासवान
यही माटो उधिनेर जीवन बित्न लागिसक्यो
एक थान टोपी किन्न सकेको छैन

मैले त फेटा गुथेर शिरलाई
शीतलहरबाट बचाएको छु

चप्पलसँग चुरा–पोते साट्न
कुम्लो बोकी टाउकोमाथि
डमरु बजाउँदै पहाड चढिरहेको छु ।

लजाइलजाइ लगाएको थिएँ टोपी
पहाडबाट भगाएर दुलही
शिव–मन्दिरमा सिन्दूर हाल्न लाग्दा
पुजारी बा’ कड्केपछि लगाएको थिएँ
त्यो पनि मधेस झर्दा चुरेमै हरायो ।

यति वर्षपछि
आज अचानक तिम्रो सहरले
मेरो नाङ्गो टाउको अराष्ट्रिय घोषणा गर्‍याे
के गर्नु आफ्नो त
निधारै अक्करे भीरजस्तो !

माफ गर्नुस् सरकार !

तपाईंको राष्ट्रिय गीतले भनेझैं
मेरो टोपी कैलाशको शिरजस्तो छैन !
०००
– निर्भीकजंग रायमाझी

प्रतिक्रिया दिनुहोस्