४ श्रावण २०८३, सोमबार

 

मिस ग्ल्यामकाे उपाधि बस्नेतलाई

मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेलस्थित छाया सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेस्ट वाकको उपाधिसमेत हात पारिन् । उनलाई अभिनेत्री वसुन्धरा भुसालले उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर प्रदान गरिन् ।

१३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेणुका बोगटी फर्स्ट रनरअप र धरानकी सम्झना परियार सेकेन्ड रनरअप भइन् । सम्झनाले मिस ग्ल्याम लुकको उपाधिसमेत हात पारिन् । उनीहरूलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युअर्स च्वाइसको उपाधि हात पारिन् भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस बेस्ट पर्सानालिटी, इलामकी विज्ञान सारूमगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेस्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसिप्लिनकोे उपाधि हात पार्न सफल भए ।

प्रतियोगितामा विभिन्न अडिसनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरूमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वक्तृत्वकलाको विकास गराउने र नेपाली पोसाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य लिएको उनले बताए ।

सञ्चार–दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षणलगायत अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रतियोगीलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेक्टर सुस्मिता गोलेले जानकारी गराइन् ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशी शाही थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung