सामाजिक सञ्जालमा आम नागरिकदेखि सेलीब्रेटीसम्मले आस्था राउतको पक्ष र विपक्षमा मत जाहेर गर्ने क्रम जारी छ । पछिल्ला केही दिन ‘आस्था–राउतकेन्द्रीत’ बनेको सामाजिक सञ्जालले निसाफ छुट्याउन सक्ने त होइन तर जनमत निर्माण गर्न केही हदसम्म यसको भूमिका रहन्छ ।
तर, आइतबार प्रहरीले गायिका राउतलाई पक्राउ पुर्जी जारी गरेसँगै उनको विषयले झन् धेरै चर्चा पाउन थालेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरी संगठनकै सदस्य स्वयंम पीडित बनेको यो घटनाको निसाफ अब प्रहरी संगठनले नै गर्नुपर्ने भएको छ । अरूका लागि न्याय र सुरक्षा दिने निकाय आफैं पीडित बनेर न्यायका लागि संगठनलाई गुहार्न पुग्नु आफैंमा एउटा पाठ हुन सक्छ । अनि, ‘मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ’ बोलको गीत गाउने गयिकाले यस घटनामा आफू फरार अभियुक्त हैन भन्न सकून् ।
गीत गाउने एउटा कलाकारविरुद्ध वारेन्ट पुर्जी जारी हुनु पाठक र श्रोताका लागि पक्कै सुखद समाचार हैन ।
मोबाइलमा फेसबुक खोल्दा आस्था फरार रहेको समाचार आइरहेको थियो । एउटी गायिका एकाएक फरार अभियुक्त बनेको समाचारले समाजको वास्तविकताबारे सोच्न बाध्य गरायो । समाज आखिर कुन दिशामा गइरहेको छ । गतसाता उनी भारतको सिक्किम जाने क्रममा त्रिभुवन विमानस्थलमा भएको सामान्य विवाद, आखिर किन यति उछालियो ?
विमानस्थलमा भएको घटनापछि भएका क्रिया र प्रतिक्रिया बारे उनी आफैँले पनि गल्ती स्वीकार गरेकी छन् । साथै गल्ती स्वीकार गर्दै क्षमा पनि मागेकी छन् । यता उनका विरुद्ध जाहेरी दर्ता भएको छ । उनी विरुद्धको जाहेरीलाई सञ्चार माध्यमले कुनै कुख्यात र अभियुक्त फरार जसरी प्रस्तुत गरेका छन् ।
यसले त आस्थाको पहिचान कलाकार नभई फरार बनेको छ ।
गल्ती गर्नु आफैँमा अपराध हो । तर अञ्जान र परिस्थितिजन्य गल्तीमा माफी हुन्छ । माफी गर्न सक्नु नै महानता हो । प्रसंगले कुनै अर्नथ नलागोस्, शान्ति सुरक्षामा प्रतिबद्ध प्रहरीले यदि उनी विरुद्ध जाहेरी गरेको हो भने उनले समाजिक संजालबाट मागेको माफीलाई स्वीकार गर्ने कि नगर्ने ? उनी जघन्य अराधकी अभियुक्त पनि हैनन् । यस्तो अन्योलको अवस्थामा वर्षैंको साधनाले बनाएको एक कलाकारको पहिचान ध्वस्त हुन कत्ति बेर लाग्दैन ।
त्यसैले परिस्थितिको गाम्र्भीयता बुझेर गायिका आस्था छिट्टै स्वदेश फर्किएर विमानस्थलबाटै आफुलाई प्रहरी समक्ष हाजिर गराउन सकुन् । किनकि उनले यसअघि नै आफुबाट गल्ती भएको सार्वजनिक गरिसकेकी छिन् । त्यसैले प्रहरीसमक्ष हाजिर हुँदा उनी फरार अभियुक्त नभएर जिम्मेवार नागरिक सावित हुनेछिन् ।
हामी यति कामना गर्न सक्छौं कि– सार्वजनिक घटनामा समस्याको कारक बनेकी आस्थाले मन, बुद्धि र विवेकलाई संयम तुल्याउन सकून् । उनीमा रहेको चेतनाले सचेत मात्र नभएर जिम्मेवार नागरिकको परिचय दिन ढिलाई नगरोस् । फेरी उनले समाजिक संजालमार्फत गरेको गल्तीको प्रायश्चितले उनीभित्र विवेक छ भन्ने देखिन्छ ।
आस्था कलाकी साधक हुन् । उनी कुनै दबंग हैनन् । उनले कसैको उक्साहटमा लागेर दबंग बन्ने चाहना पनि नसाँचून् । हुन त उनको परिवार पनि कानुनबारे सचेत नै छ । त्यसैले पनि उनलाई अरुको उक्साहटमा लाग्न पर्नै छैन ।
आस्थासँग कानूनी रुपमा बहस गर्न सक्ने शैक्षिक योग्यता छैन । किनकी उनी कानुनकी विद्यार्थी हैनन् । उनीसँग राज्यको प्रहरीसँग प्रतिशोध साँध्न सक्ने सार्मथ्र्य पनि छैन् । उनी कुनै दलकी अमुक कार्यकर्ता पनि हैनन् । उनले कुनै नेताको परिवारका सदस्यले लेखेको वा संगीत गरेको गीत गाएकी छैनन् ।
उनमा त संगीतप्रति उमंग छ । सांगीतिक उमंगमा उनले बनाएको पहिचान सामान्य हैन । त्यसैले उनको पहिचानलाई सम्बन्धीत पक्ष वा निकायले सामान्यीकरण गर्न आवश्यक पनि छैन ।
यस घडीमा आफ्नो विवेक प्रयोग गर्न आस्थाले ढिलाइ नगरून् । कुनैबेला सरकारका बहालवाल मन्त्री रहेका जयप्रकाश प्रसाद गुप्तालाई सर्वाैच्च अदालतले भ्रष्ट्राचारी ठहर गरेपछि सुनुवाई सुन्न पुगेको गुप्ताले आफैँलाई तत्काल प्रहरी समक्ष हवाला गरेका थिए । भन्नुको तात्पर्य उनी मन्त्री रहँदारहँदै गरेको त्यो कार्यले उनी भ्रष्ट्राचारको कसुरमा बदनामित भए पनि फरार अभियुक्त बन्नु परेन ।
राज्यले गरेको न्यायिक छानबिनमा हाजिर हुनु नागरिकको कर्तव्य हो । तर कर्तव्य पालन गरिरहँदा उसको अधिकारको संरक्षण राज्यले गर्नुपर्नेछ । आस्था यतिबेला कलाकारभन्दा पनि अभियुक्त बनेकी छन् । उनले आफ्नो अभियुक्तको उपमाबाट छिट्टै उपचार खोज्न सकून् ।
साथै उनले गरेको याचनालाई राज्य वा राज्यको प्रहरी संगठनले पनि स्वीकार गर्न सकोस् । अन्य नागरिक वा कलाकारका हकमा यो घटना पाठ बन्न सकोस् । साथै काननुभन्दा माथि कोही छैन् भन्ने मान्यता स्थापित गराउन यो घटना नजीर बन्न सकोस् ।
हुन त कलाकारलाई पनि कुनै न कुनै बाहनामा मिडियामा आउन चाहना प्रकट भइरहेको हुन्छ । कहिले परिस्थितिले त कहिले कर्मले । हालै मात्र गायक रामकृष्णको पारिवारिक घटना मिडियाका लागि ‘हट–केक’ बन्यो । त्यसले समाजमा रहेको सम्बन्धको बाँधलाई कमजोर तुल्यायो । यदि यसरी नै ‘सम्बन्ध र विश्वास’को संसारमा विग्रह आउँदै जाने हो भने समाज कहाँ पुग्ला ? यो सामान्य तर गम्भीर कुरा हो ।
प्रसङ्ग फेरी राउतकै ।
‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ ?
म त नेपाललाई माया गर्ने छोरी मलाई, नेपाली माया चाहिन्छ ।’
गीतमा भनेजस्तै नेपालीपन आस्थाले पनि देखाउन सकून् । फरार अभियुक्त भएर हैन, प्रहरीसमक्ष जति सक्दो छिटो हाजिर भएर कर्तव्यपरायण नागिरक बन्न सकून् । गल्ती गर्नेले क्षमा पनि माग्न सक्दछ । र पीडकले क्षमा याचना गरिरहँदा, पीडितले क्षमा दिन सक्नु उसको महानता हो । जसरी समाजिक सञ्जालबाटै घटना सार्वजनिक र सञ्जालबाटै प्रायश्चित भएको थियो ।
घटना भएकै ठाउामा टुंग्याउनु पर्ने घटनालाई प्रहरी कार्यालयसम्म पुर्याइयो । आशा गराैं यो घटनाले अब धेरै अनावश्यक चर्चा नपाओस् । कर्तव्यपरायण नागरिक र जिम्मेवार राज्यको गरिमा कायम गर्न पनि यो घटना साम्य होस् ।
‘आप भला तो जगत भला’ भन्ने गान्धीको सर्वप्रेरक वचन दुवै पक्षलाई आत्मसात् गर्ने प्रेरणा मिलोस् ।
०००
–सञ्जय पन्थी



















































































































































































































