७ कार्तिक २०८३, शुक्रबार

 

बुद्ध सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बेनी बजारस्थित बुद्ध बहु–उद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्न सोमबार एकदिने तालिम आयोजना गरिएको छ ।

सहकारी ऐन, नियमावली, सन्दर्भ ब्याजदर, सम्पत्ति शुद्धीकरण निर्देशिकालगायत समसामयिक विषयमा सञ्चालकलाई जानकारी गराई थप सक्रिय बनाउन तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।

‘सहकारी ऐनले बहुउद्देश्यीय सहकारीहरूलाई मुख्य कारोबारका रूपमा बचत तथा ऋण प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ, यस्तोमा आगामी दिन सहकारीलाई कसरी अगाडि बढाउने, ऐन–नियमलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा सञ्चालकहरू सचेत हुनुपर्ने भएको छ,’ उनले भने ।

तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी ऐन र नियमावलीमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहकारी व्यवसायलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

‘सहकारी सदस्यकेन्द्रित व्यवसाय हो, यसको मुख्य काम सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भएकाले त्यसैलाई मध्यनजर गरेर अगाडि बढे मात्र सहकारीले लक्ष्य प्राप्त गर्न सक्छन्,’ उनले भने ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष जीवन विश्वकर्माले सहकारीहरूलाई नीतिगत रूपमा सञ्चालन गरे मात्र दिगो हुने भएकाले त्यसैअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । संस्थालाई आगामी दिन थप प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन स्तरीकरण कार्यक्रममा सहभागी हुने तथा वित्तीय व्यवस्थापन, नीति र प्रविधिको अधिकतम उपयोग गरी अगाडि बढ्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । संस्थामा हाल २० करोडबराबरको कारोबार छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung