आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थामा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
कार्यरत सञ्चारकर्मी तथा कर्मचारीलाई संस्थाको दीर्घकालीन रणनीतिक योजनाअनुसार अगाडि बढ्न प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
तालिमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले गरेका थिए । उनले समृद्ध समाज निर्माणमा सहकारी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन सञ्चार क्षेत्रको सक्रिय र उत्प्रेरणामुखी भूमिका हुनुपर्नेमा जोड दिए ।
तालिममा सहकारीको परिकल्पना, रणनीतिक योजना, सहकारीलाई सफल पार्न कर्मचारीका जिम्मेवारीबारे राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । तालिमका सहभागी सञ्चारकर्मी तथा कर्मचारीहरूले संस्थाको रणनीतिक योजनाअनुसारको लक्ष्य प्राप्तिका लागि ‘सदस्य भेटौं : सदस्य सुनौं’ अभियान सञ्चालन गर्ने योजना बनाएका छन् । प्रत्येक कर्मचारीले एक महिनामा कम्तीमा १ सय जना सेयर सदस्यलाई भेट्ने, संस्थाले सदस्यहरूका लागि गर्ने काम, आगामी योजनाबारे जानकारी गराउने र उनीहरूका सुझाव तथा प्रतिक्रिया संकलन गरी संस्थाको योजना परिमार्जन गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए ।
दशवर्षे रणनीतिक योजना अनुसार २०८० सम्ममा आदर्श सहकारीलाई गण्डकी प्रदेशस्तरको संस्था बनाउने, प्रदेश राजधानीबाट सञ्चारमाध्यम सञ्चालन गर्नेलगायत योजना रहेको अध्यक्ष हुमाकुमारी जिसीले बताइन् ।



















































































































































































































