ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउन गएका दम्पतीको मृत्यु भएको छ ।४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका ललितपुरका प्रमुख टेकबहादुर राईले जानकारी दिए ।
उनका अनुसार मगर पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) थिए ।
प्रहरीका अनुसार उनीहरू बुधबार राति फिट एन्ड फाइन एरोबिक क्लब गएका थिए । त्यसपछि बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए ।
धेरै बेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू अचेत थिए । तत्काल पाटन अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए ।
मगर दम्पतीकाे अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।



















































































































































































































