१० कार्तिक २०८३, सोमबार

 

पुँजीवादी चरित्रका काम्रेड

-कान्ति न्यौपाने

केही समयअघि नाम चलेका काम्रेडको कार्यक्रममा पुगेको थिएँ । त्यहाँ उनी जोडतोडसाथ चिच्याउँदै भन्न थाले, ‘दलाल पुँजीवादले समाज ध्वस्त पार्‍यो । विश्वभरका पुँजीपति श्रमिकलाई श्रमको मूल्य दिँदैनन् । पुँजीपतिहरू सर्वहाराको खुन र पसिना खाएर मोटाउँछन् ।’ यस्तै–यस्तै ।

अनि त्यसमै थपे, ‘हामी भनेका श्रमिकका पक्षधर हौँ । समावेशिता र समन्यायमा विश्वास गर्ने, महिला र पिछडिएका वर्गलाई अन्याय हुन दिँदैनौं, हरेकलाई गाँस, बास र कपासको सुरक्षा गराउने हाम्रो तयारी छ । अब हामी दलाल पुँजीपतिहरूलाई श्रमिकको पसिना चुसेर मोटाउने अवसर दिदैँनौ ।’ हामी जसरी पनि हुँदा खाने वर्गलाई माथि उठाउँछौं भन्दै कार्ल माक्र्स, लेनिन, माओ गान्धीसम्मलाई जोड्न भ्याए ।

उनले यसो भनिरहँदा कार्यक्रममा सहभागीहरूले ताली पिटे, त्यतिले नपुगेर उफ्री–उफ्री सिठी फुके । मलाई भने हाँसो लाग्यो ।
एकै छिन अचम्म परेँ । मनभरि प्रश्न उब्जियो– आखिर उनीहरूले के बुझेर उफ्रीउफ्री ताली पिटे । वास्तविकता नबुझ्नेले त ताली पिटे तर विद्वान् र ज्ञानले निपुण भनाउँदाले पनि ताली पिटेपछिचाहिँ चाकरी राम्रै गर्ने रहेछन् भन्ने भान भयो । उनको बोली र व्यवहार कहाँ मेल खायो ? मैले उनको कपडा नियालेँ, कुनै निम्न स्तरको श्रमिकले महिनाभरि गर्ने खर्चभन्दा महँगो देखिन्थ्यो उनको एकसरो कपडा । जुत्ता, घडी, नाम चलेका ब्रान्डका २ वटा मोबाइल अनि करोडाैंको गाडी, जुन निम्नस्तरीय श्रमजीवीले देखेका पनि छैनन् होला । ती उफ्रीउफ्री ताली पिट्नेसँग सोध्न मन थियो– के बुझेर ताली पिट्यौ ? उनको गराइ र भनाइमा कहाँ समानता भेट्यौ ? विनायोजना सस्तो लोकप्रियताका लागि भाषण दिएर मात्रै पुग्छ कि काम पनि गर्नुपर्छ ? आफ्ना हुन् चाहे अर्को कोही, अनावश्यक कुरामा औँला ठड्याउन सक्नुपर्छ । तर सोध्न आवश्यक ठानिनँ बरु उनकै भाषणतर्फ ध्यान केन्द्रित गरिरहेँ ।

भाषणको रफ्तार बढ्न थाल्यो । अब उनी शिक्षातिर मोडिन थाले । छोराछोरी सरकारी स्कुलमा नपढाए शिक्षकहरूलाई कारबाही गरिने बताए । खुब हाँसो लाग्यो, आफ्ना छोराछोरी विदेशका टप स्कुलमा पढ्न पढाएर अर्काका छोराछोरीचाहिँ सरकारीमा नपढाए कारवाही गर्ने रे ! मनजिकै बस्ने एक सहभागीलाई चित्त बुझेनछ क्यारे, यस्ता गँवारको भाषण पनि के सुन्नु भन्दै बाहिरिए । सायद उनी सरकारी शिक्षक नै थिए । काम्रेडले विकास र समृद्धिको सपना देखाउन छोडेनन् । त्यस्तै कुरामा १ घन्टा भाषण दिएर मेरो छोटो भनाइ यहीँ टुंग्याउँछु भन्दै काम्रेड बसे । उनका शब्द–शब्द मेरो मनमा गडे । उनी अलिकति पनि व्यावहारिक नभएको भान भयो ।

उनले उफ्रीउफ्री भाषण गरेको केही दिनपछि नै मलाई उनको घरमा हुने कुनै बैठकमा सहभागी हुनैपर्ने भयो । उनको घर देख्न पाइने भयो भन्नेमा निकै खुसी लाग्यो ।
काठमाडौंको व्यस्त सडकभन्दा थोरै भित्र रहेछ उनको घर । बिहान ८ बजे बोलाइएको थियो तर म ७ः३० मै पुगेँ । चाँडै आएँ भन्ने पिर लागेको थियो तर अरू साथी पनि आइसकेका रहेछन् । उनीहरू गेटबाहिर उभिएका रहेछन् । मैले सबैलाई अभिवादन गर्दै सोधेँ, ‘किन बाहिर उभिनुभएको, भित्र जान मिल्दैन रे ?’ उनीहरूले भने, ‘कमरेड बाहिरबाट आउँदै छन् अरे, अनि आएपछि मात्रै भित्र पठाउने रे ।’ कताकता चित्त बुझेन ।

सोधेँ, ‘उहाँ आउँदै भए पनि के भयो त भित्र बस्न, नारा–जुलुस गर्न आएजस्तै के गेटमा उभिनु त अनि ? भित्रै कुर्न पाए राम्रो हुन्थ्यो नि ?’ एक साथीले भने, ‘त्यो त हामीले अघि नै भनेको नि, सेक्युरिटीले जान नदिएपछि के गर्नु, ढोका फोर्न भएन ।’ यत्तिकै गेटमा कुरा गर्दैगर्दा काम्रेड गाडीमा साइरन लगाउँदै आइपुगे । हामीलाई देखेपछि झ्यालबाट सोधे, ‘किन बाहिर बस्नुभएको तपाईंहरू ? ल उहाँहरूलाई भित्र ल्याइहाल्नू, यसरी बाहिर राखेर पनि हुन्छ ।’ काम्रेडले त्यति भनेर जाँदा अलि सान्त्वना मिलेजस्तै भयो ।

हामीलाई सेक्युरिटीले भित्र लग्यो, म कमरेडको घर नियाल्न थालेँ । घरबाहिरको सजावट पनि खुब राम्रो रहेछ । वरिपरि दुबो र थरीथरी फूल । बस्नका लागि कुर्सीहरू पनि राखिएका रहेछन् । ३ तले घर बाहिर र भित्र उत्तिकै आकर्षक लाग्यो । सहयोगीले हामीलाई बैठक कोठामा लगे । बैठक कोठा उस्तै आकर्षक । बाल्यकालदेखि हालसम्मका फोटो, प्रमाणपत्रले भित्ता भरिएका रहेछन् । काम्रेडले बाहिर मात्र होइन, घरभित्रको सजावटमा पनि निकै खर्च गरेका रहेछन् ।

घरमा काम गर्ने सहयोगी पनि प्रशस्त रहेछन् । जो उनले हरेक भाषणमा भन्ने श्रमजीवी सर्वहाराको प्रतिनिधित्व गरिरहेका थिए । बैठक सुरु हुनु केहीअघि कुनै सहयोगीले कालो चिया लिएर आए । ती त्यहाँ भइरहेका सहयोगीमध्येका थिएनन् । यसो नजर डुलाएँ, त्यहाँ सुरक्षाकर्मीबाहेक नै अरू ७ जना थिए । हामीलाई चिया ल्याइदिने सहयोगी आठौँ नम्बरका रहेछन् । अचम्म भएँ, उनको भनाइ र गराइ देखेर । मनमनै लाग्यो, सहयोगी पनि कति चाहिएको काम्रेडलाई ?

अझ धेरै विषय जान्न मन लाग्यो उनका बारेमा । अनि उनकै एक सहयोगीलाई उनका छोराछोरी, दाजुभाइ, दिदिबहिनी कता के गर्छन् भनेर सोधेँ । उनी पनि उनको व्यवहारबाट आजित रहेछन्, दुखेसो पोख्न थाले । ‘अधिकांश विदेशमा छन् र यहाँ रहेका पनि नाफामूलक संस्थाका मालिक छन् । नभए उनले कहीँ न कहीँ राजनीतिक नियुक्ति गराएका छन् । न क्षमता छ न योग्यता । त्यस्ता व्यक्तिलाई टपक्क टिपेर पदमा राखिएको छ । त्यति मात्र होइन, निजी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भन्दै आएका उनकै काठमाडौंमा २ वटा रेस्टुरेन्ट र बाहिर हाइड्रोपावर छन् । केही महिनाअघि उनकै संस्थामा काम गर्ने केही कर्मचारीले महिनौंसम्म तलब नपाएको विरोधमा नाराबाजी गरेका थिए । काम छोड्ने र सडकमा उत्रने चेतावनीसमेत दिएका थिए । तर पछि केही–कसो गरी थामथुम लाए, अहिलेसम्म पनि समस्या सम्बोधन भएजस्तो लाग्दैन । एउटा छोरो फेरि यहाँ भ्रष्टाचार गर्ने, गुन्डागर्दी गर्ने, अरूलाई धम्क्याउँदै रातभर बार र रेस्टुरेन्टमा हंगामा मच्चाउँछ । अनि भोलिका दिनमा त्यही छोरो मन्त्री, राजदूत र अन्य संस्थामा प्रमुख बन्छ । अब तपाईं भन्नुस्, यस्तो व्यक्तिबाट तपाईंले के अपेक्षा गर्ने, मैले के अपेक्षा गर्ने । त्यसै होइन नि, नेपाल पछि परेको । यिनै सामन्तवादी प्रवृत्तिका व्यक्तिहरूले देश डुबाएका हुन् । अझै यस्ता भन्न नहुने कालो कतूर्त थाहा छ, मलाई यिनका बारेमा ।’

सायद त्यो कुरा उनका धेरै निकट व्यक्ति र उनलाई मात्रै थाहा होला । मैले अलिकति जिज्ञासु हुँदै सोधेँ, ‘के कुरा हो अनि तपाईंले चाहिँ कसरी थाहा पाउनुभयो नि ।’ उनले थोरै हाँस्दै भने, ‘त्यो एउटा संयोग थियो, उनलाई आएको गोप्य चिठी झुक्किएर मसँग आइपुगेछ, त्यहीँबाट थाहा भयो ।’ त्यत्तिकैमा उनको फोन बज्यो । उठाएपछि ‘हस् म आइहालेँ’ भनी मलाई हात हल्लाउँदै भित्र दगुरे । म भने त्यो कर्तुत सुन्न निकै हतारिएको थिएँ । तर त्यत्तिकैमा बैठक सकियो ।

त्यहाँबाट निस्कनुपूर्व ट्वाइलेट जाने निहुँमा ती सहयोगीलाई घरको भित्र र आसपास नियालेँ तर कहीँ भेटिनँ । हत्तेरी, उनको नम्बर पनि लिन पाइएन । तिनलाई अब पनि कुनै कार्यक्रम, सभा, समारोहमा भेटी पो हालिन्छ कि भन्ने आशा पलाउँछ । तर अहिलेसम्म मौका मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung