३ श्रावण २०८३, आईतवार

 

कालीगण्डकी विद्युतगृह बन्द

देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो ।

प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

नदीमा पानी घटेका कारण हाल दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको सो अर्धजलाशययुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको छ । स्याङ्जाको मिर्मीमा रहेको सो आयोजनाको विद्युत्गृहमा कूल ४८÷४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिँदै आएको छ ।

मुलुककै ठूलो विद्युत्गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । उहाँले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदालाई ध्यान दिएर मर्मत शुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung