
धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङकी कोरोना सङ्क्रमित युवतीको स्वाब परीक्षण रिपोर्ट लगातार दुईपटक नेगेटिभ आएको छ ।
नेपालकी पाँचौं संक्रमित १९ वर्षीया ती युवतीको बुधबार पठाइएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि फेरि शुक्रबार छैटौंपटक पठाइएको थियो । शुक्रबार साँझ उनको छैटौं रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।
गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आइपुगेकी बागलुङ नगरपालिका(४ कुडुलेकी ती युवतीमा चैत १५ गते कोरोना पुष्टि भएको थियो । उनी बेल्जियमबाट फर्केकी थिइन् ।
प्रयोगशालाको औपचारिक रिपोर्ट आएपछि युवतीलाई घर पठाउने विषयमा अस्पतालमा चिकित्सकहरूको बैठक सुरु भएको छ । अस्पताल स्रोतले उनलाई आजै डिस्चार्ज गर्ने सम्भावना रहेको बतायो ।