४ श्रावण २०८३, सोमबार

 

मस्कको एउटै ट्विटले १४ अर्ब डलरले घट्यो टेस्लाको बजार

संस्थापक इलोन मस्कको ट्विटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ ।

ट्विटपछि लगानीकर्ताले सेयर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ ।‘टेस्लाको सेयर मूल्य धेरै नै बढी’ रहेको आफ्नो विचार रहेको भन्दै मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने भनी ट्विट गरेका छन् । अन्य ट्विटहरूमा उनले आफ्नी प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन् ।

सन् २०१८ मा न्युयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्विट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्विटका लागि वकिलबाट स्वीकृति लिनुपर्ने निर्णय गरेका थिए ।

वाल स्ट्रिट जर्नलले मस्कलाई त्यो ट्विट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ । यो वर्ष टेस्लाको सेयर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलरनजिकै पुगेको छ ।

बजार मूल्य एक खर्ब पुगेको अवस्थामा कम्पनीले लगानीकर्तालाई करोडौँ डलर लाभांश दिनुपर्ने हुन्छ । विवादास्पद ट्विट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरमाझ कोरोना भाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए । मस्कले बेच्ने भनेको सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung