
कोरोना रोकथाम र नियन्त्रणका लागि यहाँका पालिकाले बनाएका अधिकांश क्वारेन्टाइन प्रयोगविहीन भएका छन् । सदरमुकाम बागलुङ नगरपालिका, गलकोट नगरपालिका र बरेङका केही क्वारेन्टाइन मात्रै प्रयोगमा छन् । अन्य पालिकामा सार्वजनिक स्थल, विद्यालय र क्लबका भवनमा बनाइएका क्वारेन्टाइनमा कोही बसेका छैनन् ।
‘हामीले दुई सयभन्दा बढी मजदुरलाई राख्ने, खुवाउने र गन्तव्यमा पठाउने काम गरेका छौं,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘नगरक्षेत्रकै अन्य दुई क्वारेन्टाइनमा भने मानिस राख्नुपरेको छैन ।’
नगरपालिकाले रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा पनि क्वारेन्टाइन बनाएको थियो ।सबै पालिकामा गरी जिल्लाभर ३ सय ५० जना क्वारेन्टाइन बेड रहेको तथ्यांक छ ।
सदरमुकामस्थित रामरेखा आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा भने पालैपालो दुई सयभन्दा बढी बसिसकेका छन् । तर क्वारेन्टाइनमा बसेकाबाट संक्रमणको कुनै पुष्टि भएको छैन । यो क्वारेन्टाइनमा बढीजसो पैदल यात्रा गरेर आएका मजदुर राखिएका छन् ।
बरेङ गाउँपालिकाले सर्वोदय मावि र गाउँपालिकामा बनाएको क्वारेन्टाइनमा ५० भन्दा बढी मानिसलाई राखेको थियो । भारतको दिल्लीबाट पैदलै आएकामध्ये चार जनालाई यहाँको क्वारेन्टाइनमा १४ दिनसम्मै राखियो ।
उनीहरूको आरडीटीपछि मात्र घर पठाइएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।स्थानीय शान्ति समितिमा बनेको आश्रयस्थलमा पनि झन्डै एक सयजतिलाई खाने–बस्ने व्यवस्थापन गरिएको छ ।
ती क्वारेन्टाइन बनाउन नगरले सुरुमा दुई लाख रुपैयाँखर्चेको थियो । त्यसपछि उद्योग वाणिज्य संघ, विभिन्न लायन्स क्लबलगायत संस्थाले पनि सञ्चालनमा साथ दिएका थिए ।
गलकोट नगरपालिकाले ३० जना मजदुर र भारतबाट हिँडेर आएका ३ युवकलाई क्वारेन्टाइनमा राख्यो । मजदुरलाई तीन सातासम्म उनीहरूकै बस्ने साइटमा राखिएको थियो । देहरादुनबाट पैदल आएका युवकलाई जनकल्याण माविको क्वारेन्टाइनमा राखेर आरडीटीमा नेगेटिभ देखिएपछि १४ दिनमा घर पठाइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
अन्य पालिकामा क्वारेन्टाइन भन्दै विद्यालयहरूमा खाट र बिछ्यौना राखिए पनि कोही बसेका छैनन् ।‘खर्च पनि भएको छैन, केही सामान किने पनि अधिकांश चन्दा र सहयोगबाट राखेका हौं,’ बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘केही काममा खटिएका मदजुरलाई उनीहरूकै निवासमा राहत दिइएकाले क्वारेन्टाइन प्रयोग भएनन् ।’
उनले अत्यावश्यक परे मात्र क्वारेन्टाइन प्रयोग गर्न भन्दै शंकास्पद भए घरमै सुरक्षित रहन लगाइएको बताए ।बागलुङमा अधिकांश भारतबाट आएकाहरू छन् ।
उनीहरूलाई निगरानी गरिए पनि क्वारेन्टाइनमा नराखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए । ‘भारत र तेस्रो मुलुकबाट आएका ९ सय जनाको आरडीटी भइसकेको छ, कोही पनि शंकास्पद छैन,’ उनले भने ‘अलपत्र परेका मजदुर मात्रै क्वारेन्टाइनमा बसेका छन् । बसेकाहरूलाई हरेक दिनजसो परीक्षणपछि गन्तव्यमा पठाइएको छ ।’