
सरकारले २६ वैशाखबाट ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेपछि विद्युत् खपत विस्तारै पुरानै लयमा फर्किँदै छ। लकडाउनअघि १२ सय मेगावाट रहेको ‘पिक आवर डिमान्ड’ अहिले ११ सय मेगावाट हाराहारी पुगिसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
यस्तै, दैनिक खपत पनि अहिले २० हजार मेगावाट आवरभन्दा बढी पुगेको छ । लकडाउनअघि दैनिक खपत २१ हजार मेगावाट आवर थियो । लामो लकडाउनले बिजुली खपत घट्दा प्राधिकरणलाई आर्थिक संकट सुरु भइसकेको थियो । डेढ महिनापछि सरकारले लकडाउन केही खुकुलो पार्दै उद्योग–व्यवसाय खुला गर्ने निर्णय गरेपछि विद्युत माग विस्तारै बढेको हो।
अहिले विद्युतको माग सबैभन्दा बढी हुने समय पिक आवरमा ११ सय मेगावाट हाराहारी पुगेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
कोरोना प्रभाव र त्यसको नियन्त्रणका लागि लगाइएको लकडाउनले उद्योगधन्दा सबै बन्द हुँदा विद्युत माग घटेर पिक आवरमा पनि ९०० मेगावाटमा सीमित भएको थियो । यस्तै, ऊर्जा खपत घटेर १५ हजार मेगावाट आवरमा सीमित भएको थियो । त्यो अवस्थामा औसत विद्युत् माग पनि ६५० मेगावाटमा झर्दा रातको समयमा विद्युत खपत ४ सय मेगावाटमा ओर्लिएको थियो ।
करिब एक सातायता नेपालमा गर्मीसँगै पंखा र एसीलगायत उपकरणको प्रयोग बढेकाले पनि यसले विद्युत माग वृद्धिमा सहयोग गरेको प्राधिकरणको बुझाइ छ। विद्युत् माग पहिलेकै हाराहारी पुग्नुको मुख्य कारण भने उद्योग चल्न थाल्नु नै भएको प्रवक्ता अधिकारीले बताए ।
सिमेन्ट र डन्डीलगायतका बढी विद्युत खपत गर्ने उद्योग चलेपछि २ सय मेगावाट विद्युत खपत बढेको छ । सबै उद्योग चल्दा ३०० देखि ४०० मेगावाटसम्म विद्युत खपत हुने गरेको थियो । विद्युत खेर जान थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बढी खपत गर्ने उद्योग खुलाउनुपर्ने बताउँदै आएका थिए ।
निर्माण सामग्री उत्पादक उद्योग बन्द हुँदा निर्माणाधीन जलविद्युत्देखि अन्य विकास आयोजनामा सिमेन्ट, डन्डीलगायत सामग्री अभाव हुन थालेको थियो ।
विद्युत खेर गइरहेको भन्दै घिसिङले एकअर्काको आवश्यकता पूर्तिका लागि पनि उद्योग सञ्चालन गर्नुपर्ने धारणा विभिन्न फोरममा राख्दै आएका थिए।
अन्ततः सरकारले ४४ प्रकारका उद्योग सञ्चालन खुला गरेपछि अहिले एकातिर निर्माणाधीन आयोजनाका लागि आवश्यक निर्माण सामग्री उत्पादन भइरहेको छ भने अर्कोतिर विद्युत् पनि खपत बढेको छ। यसले आर्थिक संकटतर्फ लागेको प्राधिकरणलाई ठूलो राहत मिलेको छ।