बागलुङको जैमिनी नगरपालिका–१० राङखानी, किटेनीस्थित जनता प्राथमिक विद्यालय वर्षासँगै पहिरोको जोखिममा छ । विगतमा पहिरोले विद्यालयको पुरानो भवनमा क्षति पु¥याइसकेको छ । गत वर्ष २ कोठे भवन बनाइए पनि त्यो पर्याप्त छैन ।
कोभिड–१९ का कारण विद्यालय बन्द भएपछि अहिले टोलटोलमै पुगेर पठनपाठन गराइँदै छ । अनियन्त्रित विकासले विनाश पनि निम्त्याउँछ भन्ने यो विद्यालयको हकमा पनि लागू हुन्छ । विगतमा मोटरबाटो विस्तारका क्रममा मनलागी भित्तो खोस्रिँदा अहिले विद्यालय पहिरोको जोखिममा परेको हो । कोभिडको प्रभावका कारण विद्यालय भवन छिट्टै पुनर्निर्माण हुने देखिँदैन ।
भवन पुनर्निर्माणका लागि विभिन्न निकायमा माग गरिसकिएको प्रधानाध्यापक कृष्ण शिरीषले बताउँछन् । अब सुरक्षित ठाउँ छनोट गरेर भवन बनाउनुपर्ने व्यवस्थापन समिति अध्यक्ष प्रकाश छन्त्यालको भनाइ छ । हाल कार्यालयको कागजात सामुदायिक भवनमा सारिएको छ । अरू सामान पनि सुरक्षित स्थानमा सार्नुपर्ने देखिएकाले यसका लागि सहज वातावरण बनाइदिन उनले सम्बद्ध निकायसँग अनुरोध गरेका छन् ।



















































































































































































































