१५ कार्तिक २०८३, शनिबार

 

पहिरोले घर जोखिममा पारेपछि वृद्ध दम्पती विस्थापित

विकासका नाममा डोजरले जथाभावी सडक खनिँदा घर चर्किएपछि बागलुङमा अपांगता भएका एक वृद्ध दम्पती बिचल्लीमा परेका छन् । बागलुङ नगरपालिका–३ रातमाटा, भलाटाकुराका कृष्ण सार्की र उनकी पत्नी घरै छाडेर हिँड्न बाध्य भएका छन् ।

रिङरोडअन्तर्गतको सडक विस्तारका क्रममा जथाभावी नाली खनिँदा घर चर्किएको हो । उनीहरू ४ दिनदेखि जेठा छोराको घरमा बस्दै आएका छन् ।

नगरपालिकाले सडक निर्माणमा डोजर तथा एक्स्काभेटर लगाउँदा भलाटाकुराका तीनवटा घर जोखिममा परेका छन् । नगरको सडक कालोपत्रे गर्न मध्य बर्खामा काम थालेको हो ।

क्यान्सर भएपछि दुवै खुट्टा काटिएका सार्की श्रीमतीको भरमा छन् । सडक खनेकै कारणले घरको पिँढीमा पहिरो गए पनि नगरपालिकाले ओत लाग्न ७ मिटर प्लास्टिक मात्र दिएको उनले बताए ।

घर पहिरोले बगाउन लाग्दासमेत नगरपालिकाले निवेदन, नागरिकता खोजेर थप झन्झट दिएको स्थानीयको गुनासो छ । सडक विस्तारका नाममा आफूहरूको खेतबारी मिचिएको र भएको घरसमेत पहिरोले तान्न लागेपछि अपांगता भएका श्रीमानलाई कहाँ लिएर जाने भन्ने समस्या परेको ७१ वर्षीया असरी सार्कीले बताइन् ।

उनीहरूका दुई छोरा भिन्न भइसकेका छन् । जेठी बुहारी २ छोरी छाडेर अन्यत्रै गएको र छोराले अर्की बिहे गरेपछि ती नातिनीको हेराचाह पनि वृद्ध दम्पतीले नै गर्दै आएका छन् ।

डोजरले जथाभावी सडक खन्दा विकासभन्दा समाजमा त्रास बढेको छ । अत्यधिक वर्षाले नगर क्षेत्रमा बाढीपहिरो गएकाले राहतको व्यवस्था गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । भिरालो जमिन र अव्यवस्थित बसोबासले पनि समस्या निम्त्याएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

स्थानीय तहले कुल बजेटको करिब ५० प्रतिशत सडकमै खर्चने गरेका छन् । संघीय र प्रदेश सरकारले पनि सडकमै जोड दिएका छन् । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै कमजोर जमिनमा एक्स्काभेटर, ब्याकलोडर चलाउँदा गाउँगाउँमा पहिरोको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung