
चीनमा परीक्षण भइरहेका कोरोनाविरुद्धका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्म मानिसहरूमा प्रयोग हुन सक्ने बताइएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले नै यस्तो सम्भावना औंल्याएको हो । त्यसो हुन सके अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ ।
चाइना नेसनल फर्मास्युटिकल ग्रुपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने आशा गरिएको छ। चीनले गत जुनमा खोप आउन केही विलम्ब हुने जनाएको थियो । तर अहिले संयुक्त अरब इमिरेट्समा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन्।
अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्राजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ ।
उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुन सक्ने बताउने गरेको छ । यसै हप्ता ब्रिटेनको अक्स्फर्ड विश्वविद्यालयले खोपको विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो।
उक्त विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित रहेको र त्यसले रोगप्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने बताइएको थियो।