१५ कार्तिक २०८३, शनिबार

 

कोरोनाविरुद्ध जुध्न बागलुङका पालिकाहरूलाई नयाँ विश्व डटकमको सहयोग

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमले कोरोना नियन्त्रणमा सघाउन बागलुङका विभिन्न पालिकाहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रालिले ती पालिकाहरूलाई पीपीई, स्यानिटाइजरलगायत सामग्री उपलब्ध गराएको हो ।ताराखोला गाउँपालिकामा शुक्रबार २५ हजार रुपैयाँबराबरका सामग्री पु¥याइएको छ । नागरिक सञ्चार प्रालिका उपाध्यक्ष सुवासचन्द्र राजभण्डारीले गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई पीपीई, मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

‘कोरोना नियन्त्रणमा सहयोग पुगोस् भनेर स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हौं,’ उपाध्यक्ष राजभण्डारीले भने ।
प्राप्त स्वास्थ्य सामग्रीले गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने अध्यक्ष घर्तीले बताए ।

त्यस्तै प्रालिले काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकालाई सहयोग गरेको छ । सामग्री खरिद गर्न बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले ५० हजार, नागरिक सञ्चार प्रालिका सल्लाहकार आनन्दप्रकाश राजभण्डारीले २५ हजार, उपाध्यक्ष राजभण्डारीले २५ हजार र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले २५ हजार रुपैयाँ उपलब्ध गराएको प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य परीक्षण र उपचारमा सघाउन पालिकाहरूलाई सामग्री पठाइएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौैंका अध्यक्ष विराटकुमार श्रेष्ठले बताए ।‘लकडाउनका बेला सामाजिक उत्तरदायित्व महसुस गरेर नयाँ विश्व डटकमले सहयोगका लागि आवश्यक संयोजन गरेको हो,’ प्रालिका सल्लाहकार आनन्दप्रकाश राजभण्डारीले भने ।

त्यस्तै नेपाल मावि ताराका लागि उपाध्यक्ष सुवासचन्द्र राजभण्डारीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिवस खत्रीलाई सामग्री हस्तान्तरण गरेका छन् । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मालाई रेडियो बिहानीका स्टेसन म्यानेजर प्रकाश छन्त्यालले सामग्री हस्तान्तरण गरे ।

काठेखोला गाउँपालिकाका लागि स्वास्थ्य अधिकृत सोमराज पाण्डेलाई सामग्री हस्तान्तरण गरिएको सम्पादक राजभण्डारीले बताए ।ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकालाई प्रालिका तर्फबाट विमल खड्काले सामग्री उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung