१४ कार्तिक २०८३, शुक्रबार

 

मकवानपुरमा भेटियो पत्रकार बानियाँको शव

कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको निधन भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित मान्डु हाइड्रोपावरमा उनको शव भेटिएको हो ।

मंगलबार दिउँसो साढे १ बजेतिर उनको शव भेटिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्रबहादुर रानाले बताए । हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

‘पानीको तह घट्दै गएपछि शव देखिएको थियो,’ डीएसपी रानाले भने, ‘शव देखेपछि स्थानीयले प्रहरीलाई सम्पर्क गरेका थिए।’ मंगलबारै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पठाइए पनि टाढा भएकाले साँझ मात्रै पुगेको थियो ।

‘शव स्थानीय प्रहरीले नै निकालेको थियो, इन्स्पेक्टरको टोलीले शव हेटौंडा ल्याएर आएको हो,’ उनले भने । मंगलबार नै शव भेटिए पनि तत्काल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

‘आज बिहान काठमाडौंमा तस्बिर पठाएपछि मात्रै पहिचान भएको हो,’ रानाले भने, ‘काठमाडौंबाट परिवारले पहिचान गरेको कुरा आएको छ।’ बानियाँको टाउकोमा चोट देखिएको छ। बग्दै आउँदा चोट लागेको हुन सक्ने डीएसपी रानाले बताए ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले पनि बानियाँको शव मकवानपुरमा भेटिएको पुष्टि गरे। पत्रकार बानियाँ तीन दिनदेखि सम्पर्कविहीन थिए।

उनी परिवार, साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी दिएको थियो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा बानियाँ सोमबार बल्खु चोकमा देखिएका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ पनि गरेको थिए ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए। बानियाँका श्रीमती र दुई छोराछोरी छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung