१५ कार्तिक २०८३, शनिबार

 

बागलुङमा निषेधाज्ञा नमान्नेलाई सडकमै कारबाही

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर सडकमै कारबाही गर्न थालिएको छ । बागलुङ बजारमा कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा पालनामा कडाइ गरिएको हो ।

यसका लागि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, अर्जुनवाण गणका सेनानी विष्णु भण्डारी, सशस्त्र प्रहरी बल नेपाल गुल्म बागलुङका रमेशकुमार गुरुङलगायतको टोली आफैं फिल्डमा खटिएको छ ।

टोलीले बागलुङ बजार, कालिका मन्दिर गेट, रामरेखा, उपल्लाचौर, कुडुलेलगायत क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरी मास्क नलगाउने २१ जनालाई सडकमै कारबाही गरेको थियो ।

अत्यावश्यक कामबाहेक सडकमा हिँडडुल गर्ने कार्यलाई पूरै निरुत्साहन गरिने प्रजिअ न्यौपानेले बताए । ‘बजारमा कोरोना समुदाय स्तरमा फैलिएकाले निषेधाज्ञा कडा बनाउनुको विकल्प छैन,’ उनले भने ।

निषेधाज्ञाको उल्लंघन गरी चलाइएका दुइटा चारपांग्रे गाडी, तीनवटा मोटरसाइकल नियन्त्रणमा लिइएको र ६ वटा पसललाई कारबाही गर्ने चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्र न्यौपानेले बताए । बिहीबार मात्रै बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung