बागलुङ नगरपालिकाले सडक विस्तार गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय विस्थापित हुन लागेको छ । नगरले बाटो फराकिलो पार्न बागलुङ नगरपालिका–२ ऐश्वर्य पार्कमा रहेको कार्यालय भत्काउन थालेको हो ।
२०५४ सालमा बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको सक्रियतामा बनाइएको उक्त कार्यालयबाट बागलुङको ट्राफिक व्यवस्थापनको काम हुँदै आएको थियो ।
बागलुङ नगरपालिकाले हालको कार्यालय भत्काएर नजिकै अर्को सुविधासम्पन्न भवन बनाइदिने आश्वासन दिएको जिल्ला ट्राफिक प्रमुख शिव पाठकले बताए ।
नगरपालिकाले व्यक्तिको घर बचाउन पार्कको सरकारी जग्गा मासेको भन्दै नगरवासीले विरोध गर्दै आएका छन् । २०७२ सालको भूकम्प जाँदा हजारौं सर्वसाधारण लामो समय यही पार्कमा सुतेका थिए ।
बजारमा खुला ठाउँ अभाव भएका बेला नगरपालिकाले पार्क र क्याम्पसको ७ रोपनी जग्गा मासेको भन्दै नगरप्रमुख जनकराज पौडेलमाथि आरोप लाग्दै आएको छ ।
सडक विस्तारका लागि पार्कको चोकमा रहेको ट्राफिक प्रहरी कार्यालय भत्काउनुपर्ने भएकाले केही समय अन्यत्रै सारी सोही ठाउँमा नयाँ भवन बनाइदिने भनी नगरपालिकाले सहमति गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
पोखरा–बागलुङ सडकबाट बागलुङ बजार प्रवेश हुने मुख्य नाकामा रहेको ट्राफिक कार्यालयलाई सोही ठाउँमा व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । बागलुङमा घटना–दुर्घटना हुँदा तत्काल जनतालाई सूचना दिनुपर्ने कार्यालयलाई हाल रहेको ठाउँ नै उत्तम रहेको जिल्ला स्थानीय सोम पाठकले बताए ।
बागलुङ नगरपालिकाले चोक सुधार गर्ने बहानामा बजारका मुख्य चोकमा रहेका सरकारी जग्गामा डोजर चलाए पनि हालसम्म मापदण्डविपरीत बनेका घरधनीलाई कानुनी दायरामा ल्याउन सकेको छैन ।
सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गर्दा बेवास्ता गर्ने नगरले बजारलाई नै शोभा दिएको वीरेन्द्र–ऐश्वर्य पार्क र धौलागिरि बहुमुखी क्याम्पसको चौरमा डोजर चलाएको थियो ।हाल सडक विस्तार गर्ने भन्दै ट्रफिक प्रहरी कार्यालयको भवन, नापी र मालपोत कार्यालय परिसरमा पनि विनाजानकारी डोजर चलाएको छ ।
सरकारी कार्यालयको पर्खाल भत्काएको विषयमा बागलुङ नगरपालिकालाई के कति कारणले भत्काएको भनि जिल्ला प्रशासन कार्यालयले लिखित जवाफ मागेको जिल्ला प्रशासन कार्यालय बागलुङको सूचना अधिकारी धिरेन्द्र राज पन्तले जानकारी दिए ।
नगरपालिकाले ट्राफिक कार्यालयका लागि नयाँ भवन बनाइदिने नगरप्रमुख पौडेलले बताए । बानपा–१ बांगेचौरदेखि वडा नम्बर २ को ट्राफिक चोकसम्म २० मिटर कायम गरी सडक फराकिलो बनाउन मापदण्ड मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले २०७६ वैशाख ४ गते सूचना जारी गरेको थियो ।
एक करोड बजेट रहेको सो परियोजनामा केही स्थानीयले विरोध गरेपछि नगरपालिकाले व्यक्तिहरूको घर जोगाएर ट्राफिक कार्यालय भत्काउन थालेको हो ।
सार्वजनिक जग्गाजमिन संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि नगरपालिकाले व्यक्तिका घर जोगाउन सार्वजनिक सम्पत्ति मासेको नागरिक समाजका सदस्य राम शर्माले बताए ।
ट्राफिक कार्यालय उपयुक्त ठाउँमा राख्नु पर्छ । सडक फराकिलो बनाउन लागेको राम्रो हो तर सडक विस्तारको नाममा व्यक्तिको जग्गा जोगाएर सार्वजनिक जग्गालाई मात्र मास्ने काम भएको छ नागरिक समाजका सदस्य शर्माले नयाँ विश्वलाई बताए ।
नगरपालिकाले हामीलाई पार्कको भित्र रहेृको कोठामा सर्न आग्रह गरेको छ तर त्यहाँ बसेर कसरी प्रभावकारी रुपमा ट्राफिक व्यवस्थापन हुन्छ ? सार्वजनिक महत्वको हाम्रो कार्यालय बनाउने लिखित समझदारी नभएसम्म भत्काउन नदिने ट्राफिक प्रमुख पाठकले नयाँ विश्वलाई बताए ।



















































































































































































































