३० बैशाख २०८२, मंगलवार

 

असुरक्षित बन्दै केन्द्रीय कारागार, थप ३५ कैदीबन्दीमा कोरोना

केन्द्रीय कारागारमा आइतबार थप ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १५ जना कैदीबन्दीमा संक्रमण देखिएको थियो । यीमध्ये दुई कैदी निको भएर फर्किएका छन् ।

तीन जनालाई अस्पताल र १० जनालाई कारागारभित्रै आइसोलेसनमा राखिएको कारागार प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । आइतबार संक्रमण पुष्टि भएका ३५ जनामध्ये पनि लक्षण देखिएकालाई अस्पताल लैजाने तयारी गरिएको छ ।

यस्तै कारागारको सुरक्षामा खटिएका ५० जनाभन्दा बढी नेपाल प्रहरीलाई पनि संक्रमण पुष्टि भएको छ। देशभरबाट कैदीबन्दीलाई उपचारका लागि ल्याइने भएकाले कोरोनाको तीव्र संक्रमणसँगै केन्द्रीय कारागार असुरक्षित बनेको छ । कारागार प्रशासनले अस्पतालबाट संक्रमण फैलिएको अनुमान गरेको छ।

बिरामी कैदीलाई उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, सहिद गंगालाल र बीपी स्मृति अस्पताल लैजाने गरिएको छ । अस्पताल लगेर ल्याइएका कैदीमै सबैभन्दा पहिले संक्रमण देखिएको प्रमुख बास्कोटाले बताए । केन्द्रीय कारागारमा संक्रमण फैलिएपछि कैदीका लागि छुट्टै अस्पताल तोक्न छलफल सुरु गरिएको छ ।

कैदीलाई अस्पतालमा राख्दा सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्ने भएकाले छुट्टै अस्पताल तोक्न गृहमन्त्रालयमार्फत पहल भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

केन्द्रीय कारागारमा ५ सय कैदीलाई राख्न सक्ने क्वारेन्टिन छ । यी क्वारेन्टिनमा लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेका थप कैदीलाई राखिएको छ । नयाँ बनेका दुईवटा भवन र विद्यालयमा क्वारेन्टिन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung