
बागलुङ नगरपालिकाको फोहोर व्यवस्थापनमा नगरप्रमुखले चलखेल गरेको आरोप लगाउँदै उपप्रमुख सुरेन्द्र खड्काले जारी गरेको विज्ञप्तिको नगरप्रमुख जनकराज पौडेलले खण्डन गरेका छन् ।
उनले सोमबार छुट्टै विज्ञप्ति जारी गर्दै धौलागिरि फोहर तथा सरसरफाइ सहकारीले सम्झौताअनुसार फोहर व्यवस्थापन गर्न नसकेकाले उपभोक्ताको हितलाई ध्यानमा राखेर सम्झौता रद्द गरिएको भन्दै उपप्रमुख खड्काले लगाएको आरोप सत्य नभएको दाबी गरेका छन् ।
उपप्रमुख खड्काले आइतबार पत्रकार सम्मेलन नै गरेर नगरप्रमुखसहित कर्मचारी कमिसनको खेलमा लागेको आरोप लगाएका थिए । फोहोर व्यवस्थापनमा धौलागिरिसँगको सम्झौता पुनर्विचार गर्नुपर्ने अडान राख्दै आएकोमा अहिले निश्चित स्वार्थबाट प्रेरित भएर सम्झौता भंग गरिएको उनको भनाइ थियो ।
यही कारण बैठकमा आफूले नोट अफ डिसेन्टसमेत लेखेको उनले दाबी गरेका थिए । नगरपालिकामा भ्रष्टाचार बढेको र आर्थिक लाभहानि सोचेर फोहोरमैला सहकारीसँगको सम्झौता तोडिएको आरोप खड्काले लगाएका थिए । त्यसको भोलिपल्टै नगरप्रमुख पौडेलले विज्ञप्ति प्रकाशित गरी त्यसको खण्डन गरेका हुन् ।
उनले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उपमेयर खड्कालाई आफ्नो निर्णयमा अडिग रहन आग्रह गरेका छन् । उपप्रमुखजस्तो जिम्मेवार व्यक्तिले नगरपालिकाको हितमा नबोली नाफामूलक सहकारी संस्थाको पक्षमा लागेको उनले आरोप लगाएका छन् ।
उपप्रमुख नै संयोजक रहेको कार्यदलको बैठकले चैत १७ गतेको निर्णयका आधारमा सम्झौता भंग गरेको भए पनि तीन हप्तापछि एकाएक सहकारीको पक्षमा विज्ञप्ति आउनुले खड्काको जिम्मेवारीप्रति नै प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । ‘आफैंले गरेको निर्णय र आफैं सहभागी भएको कार्यपालिकाको निर्णयमा अडिक रहन नगर उपप्रमुखलाई आग्रह गर्छु,’ विज्ञप्तिमा लेखिएको छ ।
नगरपालिकाको फोहोर समयमा नउठाउनेलगायत गुनासो आएको र सम्झौताअनुसार कार्य सम्पादन नगरेकाले सहकारीसँगको सम्झौता भंग गरिएको पौडेलको भनाइ छ ।
नगरपालिकाले जनशक्ति, यातायात तथा ढुवानीका साधन र मर्मत खर्चसमेत नगरपालिकाले व्यहोर्नु परेको र महालेखापरीक्षकको प्रतिवेदनमा नगरपालिकाले दिएको रकम असुल उपर गर्न भनेकोले फोहरमैला सहकारीसँगको सम्झौता भंग गरी नयाँ व्यवस्थापनमा नगरपालिका आफैले फोहर संकलन गर्न बाध्य भएको बेला उपप्रमुख खड्काले नगरपालिकामा भष्टचार बढेको र आर्थिक लाभहानि सोचेर फोहर मैला सहकारीसँग सम्झौता तोडेर उपप्रमुख खड्काको आरोप झुठा भएको विज्ञप्तीमा उल्लेख छ ।
सोमबार प्रकाशित विज्ञप्तीमा धौलागिरि फोहर तथा सरसरफाइ सहकारीले सम्झौता अनुसार फोहर उठाउन र व्यवस्थापन गर्ने काम राम्रोसँग नभएकोले उपभोक्ताको हितमा सहकारीसँगको सम्झौता रद्द गरेकोले उपप्रमुख खड्काले लगाएको आरोपमा कुनै सत्यता नभएको विज्ञप्तीमा खण्डन गरेको छ ।
फोहर संकलन र व्यवस्थापनको विषयमा नगरप्रमुख जनका राज पौडेल र उपप्रमुख सुरेन्द्र खड्काविच चलेको बहस र आरोप प्रत्योरोपले नगरबासी र उपभोक्ताहरु अन्यौलमा परेका छन ।