सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा बुधबार पक्राउ गरिएका चन्द्रकान्त पौडेलविरुद्ध कारबाही अघि बढाउन दुई महिनाअघिदेखि नै जिल्लामा आवाज उठ्दै आएको थियो ।
तर, प्रहरीले सक्रियता नदेखाउँदा उनी पक्राउ परेका थिएनन् ।खास गरी जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले पौडेललाई पक्रन आलटाल गर्दै आएका थिए ।
बुधबार पनि उनी बिरामी भएको बहाना बनाउँदै क्वार्टरबाट बाहिर निस्कन चाहेका थिएनन् । गण्डकी प्रदेशका प्रहरीप्रमुख डीआईजी घनश्याम अर्यालले नै आदेश दिएपछि बल्ल उनले टोली खटाएका हुन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत मानहानि गरेको भन्दै साउनदेखि नै रंगवैकटेश्वर मुक्ति नारायण मन्दिरका उपाध्याक्ष हरि प्रसाद उपाध्याय, स्वामी ऋषि प्रपन्नाचार्य, पत्रकारहरू राजेशचन्द्र राजभण्डारी, सुवास आचार्य, रामप्रसाद घिमिरे, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, अधिवक्ता राम शर्मालगायतले प्रहरीलाई लिखित र मौखिक उजुरी गरेका थिए ।
तर, चौधरीले पौडेललाई सामान्य सोधपुछ मात्र गरेर छाड्दै आएका थिए । आज पनि त्यसै गरी छाड्ने तयारी रहेकामा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रहरी निरीक्षक दीपक रिजाललाई कडा आदेश दिएपछि प्रहरी पौडेललाई थुनामा राख्न बाध्य भएको हो ।
प्रजिअ न्यौपानेले मंगलबार साँझै पौडेलको मोबाइल नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीलाई निर्देशन दिएका थिए ।
तर, मोबाइल नियन्त्रणमा लिन खटाइएका प्रहरी निरीक्षक रिजाल खाली हात फर्किएका थिए । यसअघि पौडेलले बागलुङका तीन पत्रकारको चरित्र–हत्या गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले सोमबार र महासंघको बागलुङ शाखाले आइतबार आपत्ति जनाएका थिए ।
महासंघ सचिव रमेश विष्ट र बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जारी गरेको विज्ञप्तिमा पत्रकारको सामाजिक र पेसागत प्रतिष्ठामा आघात पु¥याएको भन्दै पौडेललाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
यस्तै पौडेलले सामाजिक सञ्जाल दुरुपयोग गरी आफ्नो चरित्र–हत्या गर्न खोजेको भन्दै आजै काठेखोला गाउँपालिका–३ धम्जा घर भई बागलुङ बजार वडा नं २ श्रीनगरटोलमा बस्ने सावित्री खड्काले जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी छन् ।
पौडेलले लामो समयदेखि स्वामी कमलनयनाचार्य, स्वामी ऋषि प्रपन्नाचार्य, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष एवं एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका जिल्ला संवाददाता सुवास आचार्य, ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरे, बागलुङ शाखाका अध्यक्ष दिल शिरीष,अधिवक्ता राम शर्मा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख शारदाप्रसाद चौधरी ,नेपाल सरकारका विरुद्धमा सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।



















































































































































































































