४ श्रावण २०८३, सोमबार

 

कोरोनामा पनि अम्बानीलाई फलीफाप

कोराना महामारीले संसारका कयौं ‘बिजनेस टाइकुन’हरू थलिँदा भारतीय उद्योगपति मुकेश अम्बानीलाई भने फलीफाप सिद्ध भएको छ।
कोभिड–१९ संक्रमण बढ्न थालेपछि भारत सरकारले गत मार्चबाट लकडाउन गरेको थियो । त्यसयता अहिलेसम्म अम्बानीले घण्टाको औसत ९० करोड भारुका दरले सम्पत्ति थप्दै लगेको आईआइएफएल वेल्थ हुरन इन्डिया रिच लिस्ट–२०२० मा उल्लेख छ ।
नौ वर्षदेखि भारतका धनीहरूको सूचीमा एक नम्बरमा रहेका अम्बानीको सम्पत्ति यस अवधिमा २७ खर्ब ७० अर्ब भारुबाट बढेर ६५ खर्ब ८० अर्ब भारुसम्म पुगेको आईआइएफएलले जनाएको छ ।

भारतको सबैभन्दा ठूलो औद्योगिक घराना रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) का अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी आरआईएलका सबैभन्दा ठूला सेयर होल्डर हुन् । आरआईएलअन्तर्गतको कम्पनी रिलायन्स रिटेलमा अमेरिकी प्राइभेट इक्विटी फर्म सिल्भर लेकको ७५ अर्ब भारु लगानी आएपछि नै आईआइएफएलले नयाँ सूची तयार पारेको हो । सिल्भर लेकको उक्त लगानी डिल हुँदा अम्बानीको बिजनेस पोर्टफोलियो रिलायन्स रिटेलको मूल्यांकन ४२ खर्ब १० अर्ब भारु भएको थियो । यसअनुसार रिलायन्स रिटेलको मात्र १।७८१५ प्रतिशत स्वामित्वका लागि सिल्भर लेकले त्यो रकम लगानी गरेको हो । त्यसअघि पनि अम्बानीले जियो प्लेटफर्ममा सिल्भर लेकको ५६।५५७५ अर्ब भारु लगानी भित्र्याएका थिए । त्यससँगै पछिल्ला केही महिनामै २० अर्ब अमेरिकी डलर फन्ड–रेजिङ गरेका अम्बानी लक्षित अवधिभन्दा पहिल्यै रिलायन्स इन्डस्ट्रिजलाई खुद ऋणमुक्त बनाउन सफल भएका थिए । यसले महामारीका कारण अन्य कम्पनीको वासलात नराम्ररी बिग्रिए पनि अम्बानीलाई भने बेजोड वित्तीय तागत प्रदान ग¥यो ।

प्रविधि र रिटेललाई ‘फ्युचर ग्रोथ ड्राइभर’का रूपमा देखेका यी ६३ वर्षे बिजनेस टाइकुन जियो प्लेफर्म र रिलायन्स रिटेलको विस्तारमा आक्रामक बनेका छन् । सोहीअनुसार अम्बानीले अहिलेसम्मको अवस्था हेर्दा यी दुवै पोर्टफोलियोलाई स्थापित गर्न खोजेको प्रस्ट देखिएको छ ।
चीनको अलिबाबाजस्तै रिटेलतर्फ उनले ‘होम ग्रोन ई–कमर्स जायन्ट’ खडा गर्ने महत्त्वाकांक्षा राखेका छन् । तेलदेखि टेलिकम र रिटेलसम्म व्यवसाय विविधीकरण गरेका अम्बानीले भारतीय बजारमा कतिपय क्षेत्रको व्यापारमा एकाधिकार जमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung