३० बैशाख २०८२, मंगलवार

 

कोरोनाले खपत घटेपछि संकटमा ग्यास उद्योग

कोरोना महामारीसँगै ग्यासको खपत कम भएपछि ग्यास उद्योग संकटमा परेका छन् । धानिन नसकेपछि केही सञ्चालकले उद्योग नै बिक्री गरेका छन् ।

६ महिनायता ग्यास उद्योग समस्यामा परेको उद्योगीहरू बताउँछन् । ‘कोरोना संकटले समग्र खपत घटेकाले धेरै ग्यास उद्योग घाटामा गएका छन्,’ ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने, ‘व्यावसायिक खपत नहुँदा उद्योगलाई नोक्सानी भएको हो ।’ पछिल्लो ६ महिनादेखि ठूला होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था बन्द छन् । लामो समयसम्म लकडाउनले उद्योग, साना होटल तथा अन्य व्यापारिक प्रतिष्ठान पनि बन्द रहे । यस क्षेत्रमा ग्यासको खपत उच्च हुने गर्छ ।

पछिल्लो ६ महिनादेखि व्यावसायिक खपत ठप्प रहेको भण्डारीले जानकारी दिए । त्यस्तै ग्यासको खपत धेरै हुने काठमाडौंमा उपत्यकाबाहिरका मान्छे घटेका छन् । लकडाउन सुरु भएसँगै काठमाडौंबाहिरका धेरै जना गाउँघरमा गइसकेका छन् । यसले घरायसी प्रयोग पनि घटेको छ । ‘समग्रमा ३० देखि ४० प्रतिशतसम्म खपत घटेको छ,’ भण्डारीले भने, ‘यसले सोझै व्यवसायलाई असर गरेको छ ।’ सामान्य अवस्थामा मुलुकमा दैनिक एक लाख सिलिन्डर प्रयोग हुने गरेको उनले बताए । कोरोना संकट लम्बिदै जाँदा साना ग्यास उद्योग बिक्रीसमेत गरिएका छन् । लकडाउनकै अवधिमा व्यवसाय धान्न नसकेर चारवटा यस्ता उद्योग बिक्री भएको भण्डारीले बताए । पछिल्लो ६ महिनामा एचपी ग्यास, साइपाल ग्यास, त्रिवेणी र आरती ग्यास बिक्री भएका हुन् ।

यी ग्यास उद्योग अन्य ठूला ग्यास कम्पनीले नै खरिद गरेका छन् । एकै ठाउँबाट रिफिलिङ गर्दा धरै भार नपर्ने भएपछि ग्यास उद्योगीले नै किनेको उनले बताए । व्यवसाय घटिरहेका बेला ग्यास उद्योगको खर्च भने बढेको व्यवसायीको भनाइ छ । अत्यावश्यक रूपमा रहेको उद्योग चलाउनैपर्ने भएकाले सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्दा प्रशासनिक खर्च बढेको भण्डारीले बताए ।

उनका अनुसार ग्यास उद्योगको यस्तो अवस्था आउनुमा सरकारी कदम पनि कारण छ । सरकारले नेपाल आयल निगममार्फत सरकारी ग्यास उद्योग सञ्चालन गर्ने बताएको छ । ‘सरकारले आफैँ आयात गरेर आफैँ प्लान्ट खोल्ने भनेपछि ग्यास उद्योगी सशंकित भएका छन्,’ भण्डारीले भने ।

मुलुकमै उपलब्ध बिजुली उपभोग नगरी सरकारले नै ग्यास उद्योग खोल्ने रणनीति राम्रो नभएको व्यवसायी बताउँछन् । नेपालमा सबैभन्दा ठूलो व्यापार घाटा भनेकै ग्यास र पेट्रोलियममा छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung