सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि नबढाउँदा नेपाल विद्युत् प्राधिकरण तत्काललाई निमित्तकै भरमा चल्ने छाँट देखिएको छ ।
कुलमान घिसिङ बाहिरिएपछि अहिले निमित्तका रूपमा लेखनाथ कोइराला छन् । निमित्त भए पनि उनलाई ऊर्जा मन्त्रालयले पूर्ण अधिकार दिएकाले पनि तत्काल नयाँ कार्यकारी आउने सम्भावना कम छ।
सरकारले अहिलेसम्म कार्यकारी निर्देशक छान्न समिति बनाएको छैन । कुलमान पुनः प्रतिस्पर्धामा आउन सक्ने देखेर सरकारले प्रक्रिया अघि नबढाएको मन्त्रालय स्रोतले जनाएको छ । ‘फेरि कुलमान प्रतिस्पर्धामा आए के गर्ने भन्ने डर सरकारलाई छ,’ स्रोतले भन्यो, ‘त्यति बेला कुलमानलाई नियुक्त नगर्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले अझै केही समय नियुक्तिको प्रक्रिया अघि नबढ्ने देखिएको छ ।’
यद्यपि कुलमानले प्रतिस्पर्धामा भाग नलिने बताउँदै आएका छन् । सरकारले सिधै नियुक्त गरे मात्र पुनः कार्यकारी निर्देशक बन्ने उनको भनाइ छ । कुलमान दोहो-याउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिपरिषद्मा प्रस्तावसमेत लगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दोहो-याउन नचाहेपछि कुलमान पुनः कार्यकारी निर्देशक बन्न सकेनन् । ‘कार्यकाल सकिनु एक महिनाअघि नियुक्त गरेको भए हुन्थ्यो,’ स्रोतले भन्यो, ‘तर अहिले प्रतिस्पर्धाबिना कुलमानलाई नियुक्त गर्न पनि मिल्दैन ।’
चार वर्षअघि कुलमान विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा देशमा दैनिक १० घण्टासम्म लोडसेडिङ थियो । उनी नियुक्त भएको झन्डै दुई महिनापछि मुलुक लोडसेडिङमुक्त हुँदै गयो । यस्तै ३५ अर्ब रुपैयाँ सञ्चित नोक्सान भएको विद्युत् प्राधिकरणलाई उनले लगातार ३ वर्ष नाफामा लगेका छन् । २५ प्रतिशत हाराहारी रहेको बिजुली चुहावटलाई घटाएर १५ प्रतिशतमा झारेका छन् ।













































































































































































































