धादिङको बेनिघाटमा रहेको त्रिवेणी ग्यास उद्योग १३ करोड ९ लाख रुपैयाँमा बिक्री भएको छ । यो उद्योग चितवनका ह्याचरी उद्योगी नरेन्द्र बर्तौलाले किनेका हुन् । विराटनगरका सन्तोष भगतले दुई महिनाअघि यो उद्योग बिक्री गरेका हुन् । सय टन क्षमताको उद्योगसँग ९० हजार सिलिन्डर छ ।
‘यो उद्योग हामीले दुई महिनाअघि किनेका हौं । थप लगानी गरेर केही समयभित्रै स्वचालित बनाउनेछौं’, बर्तौलाले भने, ‘ग्यासको बजार देखेर ह्याचरीबाट यता लगानी गरेको हुँ ।’ उद्योगको १५ रोपनी जग्गा छ । कोभिडका बेला ग्यास खपत कम भए पनि दीर्घकालीन बजार हेरेर लगानी गरेको उनले बताए ।
‘कोभिडका कारण अहिले होटल र रेस्टुरेन्ट बन्द छ । यसले खपत ३० प्रतिशतसम्म घटेको छ,’ बर्तौलाले भने, ‘अहिलेको बजार हेर्दा केही समस्या देखिन्छ । तर दीर्घकालीन रूपमा ग्यासको बजार राम्रै हुने देखेको छु ।’ मुलुकमा बिजुली पर्याप्त भए पनि ग्यासको खपत कम नहुने उनी जिकिर गर्छन् । ‘विकसित देशमा बिजुली चाहेजति छ । तर ग्यासको खपत कम भएको छैन । नेपालको सन्दर्भमा पनि खपत कम हुने देख्दिनँ । अझै बढ्ने नै देखेको छु,’ उनले भने, ‘अहिले नै ग्यास खपतको तथ्यांक हेर्ने हो भने वार्षिक १५ प्रतिशतका दरले बढिरहेको छ ।’
यो उद्योगको ग्यास काठमाडौं उपत्यका र नुवाकोटमा बिक्री भइरहेको छ ।
आक्रामक बजारीकरणका लागि रणनीति बनाइरहेको बताउँदै बर्तौलाले काठमाडौंमै केन्द्रित रहेर बजार विस्तार गर्ने जानकारी दिए । ‘ग्यासको बजार काठमाडौं उपत्यकामा बढी छ । झन्डै ४० लाख जनसंख्या भएको क्षेत्रमा ग्यासको खपत पनि बढी हुन्छ,’ उनले भने, ‘अघिल्लो व्यवस्थापनले राम्रोसँग उद्योगलाई ध्यान दिएर बजार विस्तार गर्न सकेको थिएन । उहाँहरुको कोर बिजनेस अर्कै भएर पनि समस्या भएको थियो । मैले यही उद्योगलाई केन्द्रित गरेर व्यवसाय गर्दै छु ।’













































































































































































































