२० बैशाख २०८१, बिहीबार

 

पिताले खडा गरेको महासंघ हाँक्दै छन् शेखर

५३ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको पहिलो विधान बन्दा हुलासचन्द गोल्छाको पनि हस्ताक्षर थियो । उनै हुलासचन्दका छोरा शेखर अहिले महासंघको नेतृत्वमा आएका छन् । महासंघको संस्थापक व्यावसायिक घराना भए पनि उक्त परिवारबाट महासंघको अध्यक्ष बन्ने उनी पहिलो व्यक्ति हुन् ।

महासंघले आज जुन हैसियत बनाएको छ, त्यसका पछाडि स्वर्गीय हुलासचन्दको पनि योगदान छ । २०२२ सालमा महासंघ बनाउनपूर्व गठित कमिटीमा उनी सहभागी थिए ।

त्यस बेला महासंघलाई कसरी अघि बढाउने, के–के कुरा समेटेर जाने भन्ने विषयमा हुलासचन्दले अत्यधिक काम गरेको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन् ।

व्यवसायीको हकहितमा आवाज उठाउने संस्थाको खाँचो महसुस गरेपछि हुलासचन्दले संस्थाको परिकल्पनासहित विधान कोरेका थिए ।

‘उहाँले विधान बनाएर हस्ताक्षर गर्नुभयो । तर आफू त्यो संस्थाको अध्यक्ष बन्न सक्नुभएन,’ पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘महासंघमा गोल्छा परिवार यसअघि उपाध्यक्ष पदसम्म पुगेका थिए । त्यो रेकर्डलाई शेखरले तोड्नुभएको छ ।’

हुलासचन्दको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनी विनोद चौधरीलाई अध्यक्ष बन्न बाटो खुला गरेर उपचारका लागि अमेरिका प्रस्थान गरेका थिए । स्व दिवाकर गोल्छा पनि महासंघको उपाध्यक्षसम्म पुगेका थिए ।

हुलासचन्दले बनाएको विधान पटक–पटक संशोधन गरिसकिए पनि अझै कैयौं व्यवस्था जीवित छन् । महासंघको अहिलेको जुन संरचना छ, त्यो हुलासचन्दकै कन्सेप्ट हो । जिल्ला–नगर, वस्तुगत, एसोसिएट, द्विराष्ट्रलगायत जति संरचना छन्, ती सबै हुलासचन्द आफंैले बनाएका हुन् ।

धेरै वर्ष महासंघका विभिन्न पदमा बसेर निजी क्षेत्रको सेवा पनि गरेका हुन् उनले । ‘गोल्छा महासचिवदेखि उपाध्यक्षसम्म पुग्नुभयो,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘महासंघलाई सुदृढ गर्न देशभरका चेम्बरमा पुग्नुभयो । उहाँ आफ्नै कारणले संस्थाको अध्यक्ष बन्न सक्नुभएन ।’

इन्द्रभक्त श्रेष्ठ अध्यक्ष ९२०३५–३८० हुँदा हुलासचन्द उपाध्यक्ष थिए । उनकै जोडबलमा हुलासचन्दलाई अध्यक्ष बनाउने प्रयास पनि भएको थियो ।

तर, त्यस बेला महेशलाल प्रधान अध्यक्ष बने, हुलासचन्द उठेनन् । महेशलालको कार्यकाल सकिएपछि हुलासचन्द अध्यक्ष बन्ने दौडमा थिए तर स्वास्थ्यले दिएन ।

हुलासचन्दपछि दिवाकर गोल्छाले पनि महासंघलाई थप सशक्त र दह्रिलो बनाउन भूमिका खेले । देशमा रोजगारी सिर्जना गर्नुपर्ने, उद्योग खोल्नुपर्ने, मूल्य अभिवृद्धि गर्ने उद्योग चलाउनुपर्ने सोचबाट पे्ररित थिए उनी ।

श्रम–सम्बन्ध सुमधुर हुनुमा दिवाकरको भूमिका ठूलो छ । अहिले बनेको श्रम ऐनलगायत श्रमिकसँग सम्बन्धित सबै काम दिवाकरको योगदानबाटै सम्भव भएका हुन् ।

प्रथम उपाध्यक्ष भइसकेका कारणले उनलाई अध्यक्ष बनाउन सबै जना राजी नै थिए । तर, चण्डीराज ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएपछि उनी चुनावी रेसबाट बाहिरिएका थिए ।

उनलाई सर्वसम्मत अध्यक्ष दिन सबै जना राजी भइसक्दा पनि ढकाल मानेनन् । ‘उहाँ सर्वसम्मतिमा विश्वास गर्नुहुन्थ्यो । चुनावले फाटो ल्याउँछ भन्ने उहाँको सोच थियो ।

एक अर्काबीच मनमुटाव हुनेबित्तिकै निजी क्षेत्र कमजोर हुने उहाँको बुझाइ थियो,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘उहाँले भनेको कुरा भएन ।’ गोल्छाले चुनाव नलड्ने भनेपछि कुशकुमार जोशीलाई अघि बढाइयो । उनले जित पनि निकाले ।

प्रतिक्रिया दिनुहोस्