राजतन्त्र पुनस् स्थापनाको माग गर्दै काठमाडौंमा सोमबार बृहत् प्रदर्शन भएको छ । राजसंस्था पक्षधरहरुले जुलुस निकाल्दै ‘गणतन्त्र र संघीयता’ खारेज गर्न माग गरेका हुन् ।
उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए ।
जुलुसमा सहभागी केहीले प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए । माइतीघर मण्डलबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागी केहीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबर अंकित टिसर्ट पनि लगाएका थिए । काठमाडौं, भक्तपुर र ललितपुरबाट जुलुसमा सहभागी हुन राजसंस्था समर्थकहरु आइपुगेका थिए ।
कार्यक्रम आयोजकले सामाजिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न पटकपटक सचेत गराए पनि उनीहरुले त्यसलाई बेवास्ता गरेका थिए । राजसंस्था पुनस् स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरूमा प्रदर्शन भइरहेको छ । सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुस निकालेका हुन् ।
पूर्वमन्त्री केशरबहादुर बिष्टको नेतृत्व
राष्ट्रिय शक्ति नेपालले सोमबार काठमाडौंमा राजसंस्थाको पक्षमा जुलुस निकालेको हो । राष्ट्रिय शक्ति नेपालको अध्यक्ष पूर्वपञ्चका रूपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट छन् ।
उनी राजा ज्ञानेन्द्र शाहसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् । अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकार मञ्च र गुरु गोरखनाथका भक्तहरूको समाज पनि सहभागी थियो ।
बिष्टले नै आफूहरूको जुलुसमा उनीहरूको समेत सहभागिता रहेको जानकारी गराएका थिए । जुलुसमा सुहभागी हुनेहरू अधिकांश राष्ट्रिय प्रजातन्त्र पार्टी निकटहरू छन् ।
जुलुसमा नेपाली सेनाका पूर्वसहायक रथी
त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए । जुलुसमा बिष्टसहित तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली र कांग्रेस विपिन कोइराला पनि सहभागी थिए ।
बिष्टले छोटो तयारीमा सोमबार जुलुस निकालेको बताउँदै आउँदो २० गते अझ बृहत प्रदर्शन हुने जानकारी दिए । राजसंस्थाका समर्थकहरुको निसानामा ०७२ असोज ३ गते जारी संविधान रहेको पाइएको छ ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने सबैजसो वक्ताले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रपतिको खुलेर विरोध गरे ।
राष्ट्रिय शक्तिका अध्यक्ष बिष्टले राजाले जस्तो राष्ट्रपतिले नेपालजस्तो धेरै संस्कृति र मूल्यमान्यता भएको देशलाई फूलको मालामा उनेजस्तो गाँस्न नसक्ने भन्दै राजसंस्था पुनस् स्थापना अनिवार्य रहेको बताए । उनले राष्ट्रपतिको भूमिकाको तटस्थता र राष्ट्रिय एकताको प्रतीकका रूपमा हुनै नसक्ने भन्दै विरोध गरे ।
अर्का वक्ता कोइरालाले आफूहरूको मूल एजेन्डा ०७२ को संविधान खारेज गरी ०४७ सालको संविधान ब्यूँताउनु भएको बताए । उनले पनि नेपालमा यसअघिका राष्ट्रपति रामवरण यादवमा पनि दलीय रुझान देखिएको बताए ।
उनले विद्यादेवी भण्डारी त पूरै प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको भन्दै दलको पनि हुन नसकेको टिप्पणी गरे । संविधानको दायराभित्रको राजा नेपालमा चाहिएको उनको धारणा थियो ।
राजाका शासनकालका मन्त्रीसमेत रहेका ज्ञवालीले पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आयातित एजेन्डा रहेको भन्दै खारेज गर्नुपर्ने बताए । ०४७ सालको संविधान फर्काएर राजालाई रेफ्रीको भूमिकामा ल्याउनुपर्ने उनको भनाइ थियो ।



















































































































































































































