
प्रतिकात्मक तस्बिर
मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।
मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको बताएको थियो। तर, घटनास्थल पुगेको प्रहरीले भने उनको घाँटी रेटिएको अवस्थामा फेला पारेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।
‘हात बाँधेर घाँटी रेटेको पाइएको छ । गोली हानेर होइन रेटेरै हत्या गरेको देखिएको छ । अनुसन्धान जारी छ । घटनामा संलग्नको खोजीमा जुटेका छौं ।’ उनले भने ।
हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीले जनायो।
‘स्थानीयले गोली चलेको आवाज सुनेको भनी खबर गरेका थिए,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘तर, शिक्षकलाई गोली हानेको देखिएन।’
शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरैबाट विप्लव कार्यकर्ताले अपहरण गरेका थिए।
मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो। त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए।
शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले बताए।