१७ बैशाख २०८१, सोमबार

 

चिनियाँ चन्द्र अभियानले चर्चामा आएकी झाउ

चीनको सामाजिक सञ्जालमा यति बेला एक जना २४ वर्षीया महिलाको निकै चर्चा छ । उनी चन्द्रमा खोज कार्यक्रम चाङ–अ फाइभकी सदस्य झाउ चेङयु हुन् ।वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमान्डर भए पनि उनलाई सम्मान दर्साउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ ।

चन्द्रमामा सफल आवतरण गरेको चाङ–अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो । झाउ त्यो प्रक्षेपणको रकेट कनेक्टर प्रणालीकी प्रमुखको जिम्मेवारीमा थिइन् ।नोभेम्बर २३ मा सफल प्रक्षेपण गरिएको चाङ–अ फाइभ मिसनमा संलग्न व्यक्तिको रूपमा चीनको सरकारी सञ्चारमाध्यमले चर्चा गरेपछि उनी चिनियाँ सामाजिक सञ्जाल वाइबोमा चर्चाको विषय बनेकी हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई ‘विलक्षण’ भन्दै उनी देशका लागि ‘प्रेरणाको स्रोत’ रहेको चर्चा गरिरहेका छन् ।वेबसाइट डुकाई गुइझाउ नेटका अनुसार झाउले भने आफ्नो काममा यस्तो चर्चाले अवरोध नपु¥याओस् भन्दै अन्तर्वार्ताको लागि बारम्बार गरिएको प्रयासलाई अस्वीकार गरिरहेकी छिन् ।

उक्त चन्द्र मिसनको उद्देश्य चन्द्रमाको सतहबाट चट्टान संकलन गरी चन्द्रमाको उत्पत्तिबारे अनुसन्धान गर्नु रहेको छ । सफल भएमा ४० वर्षभन्दा बढी समययता चन्द्रमा पुगेर फर्किएको यो पहिलो अभियान हुनेछ । अहिलेसम्म अमेरिका र सोभियत संघले मात्रै चन्द्रमाबाट चट्टान पृथ्वीमा ल्याएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त अभियानलाई ‘राष्ट्रिय रूपान्तरण’को एउटा कदम बताएका छन् । चीनका लागि अन्तरिक्षको खोज उसको बढ्दो प्राविधिक क्षमता देखाउने र विश्व मञ्चमा आफ्नो शक्तिशाली भूमिका प्रस्तुत गर्ने माध्यम बनेको छ ।

बीबीसीकी चीन मिडिया विश्लेषक केरी एलन भन्छिन्, ‘पुरुषहरूको बाहुल्य रहेको देशको नेतृत्वका माझ पछिल्लो समय चीनले शक्तिशाली महिलाहरूलाई प्रस्तुत गरिरहेको छ ।’

गत वर्ष चीन आफ्नो एउटा मानवरहित अन्तरिक्ष यान चन्द्रमाको अहिलेसम्म नपुगिएको कुनामा अवतरण गर्न सफल भएको थियो ।आउँदा केही दशकमा उसले चन्द्रमामै अध्ययन केन्द्र स्थापना गर्ने र मानिसलाई मंगल ग्रह पठाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्