२० बैशाख २०८१, बिहीबार

 

गौचनको योगदानको स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने – ‘गौचन नभएको भए, हामीले धेरै चिज गुमाउथ्यौं’

दिवंगत राजनीतिज्ञ एवं शिक्षासेवी ओमकारप्रसाद गौचनका योगदानको चर्चा गर्दै शनिबार काठमाडौंमा स्मृतिसभा गरिएको छ ।

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले गौचनको राजनीतिक, शैक्षिक एवं सामाजिक व्यक्तित्वको चित्रण गरेका थिए ।

गौचनको लोभलाग्दो व्यक्तित्व र योगदानकै कारण हाम्रो समाजले नयाँ बाटो पायो – पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

बागलुङमा जन्मिएका गौचनले समग्र देशकै शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उनीहरूको भनाइ थियो ।
स्मृतिसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वमन्त्री गौचनका कामप्रति समाज सधैं ऋणी र कृतज्ञ रहने बताए ।

गौचन परिवारले पश्चिमाञ्चल र बागलुङको सामाजिक परिवर्तनका लागि गरेको प्रयत्नकै कारणले त्यस क्षेत्रका थुप्रै प्रतिभाशाली युवाले स्थानीय र राष्ट्रिय रूपमा योगदान दिन सक्ने अवस्था बनेको श्रेष्ठले जनाए ।

‘ओमप्रसाद गौचनका सुयोग्य पुत्र, बौद्धिक, सामाजिक राजनीतिक हिसाबले अब्बल ओमकार गौचन रहनुभएको थियो, बागलुङबासीलाई अप्ठ्यारो पर्दा उहाँले आफूले सकेको गर्नुहुन्थ्यो ।’

मुस्ताङको ७ सय थाक थकाली गाउँमा जन्मिएर १९८३ मा बागलुङलाई कर्मथलो बनाएका ओमप्रसाद गौचन र उनका छोरा ओमकारप्रसाद गौचनले आधुनिक बागलुङको निर्माणका लागि विद्यामन्दिर माध्यमिक विद्यालय, विद्यामन्दिर पुस्तकालय, परिवार नियोजन संघ, लुम्बिनी विकास कोषलगायत विभिन्न क्षेत्रमा कुशलतापूर्वक काम गरेर परिणाम दिएको श्रेष्ठले बताए ।

‘त्यति बेला शैक्षिक हिसाबले पोखराभन्दा बागलुङ अगाडि थियो, जहाँ मैले अध्ययन गरेको विद्यामन्दिर मावि र विद्यामन्दिर पुस्तकालयले गर्दा म यहाँसम्म आइपुगेको छु, त्यो विद्यालयका संस्थापक, प्रणेता उहाँ नै हो,’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले गौचनले तुलसी मेहरसरहको योगदान दिएको भन्दै उनी बागलुङले मात्र नभई सिंगो देशले सम्झनुपर्ने व्यक्तित्व भएको बताए ।

शैक्षिक,राजनैतिक,सामाजिक र सांस्कृतिक चेतनाको धनी गौचन – नयाँ विश्व डटकमका अध्यक्ष श्रेष्ठ

कार्यक्रममा नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठले ओमकार गौचनको सादगी जीवनको स्मरण गर्दै जिल्लालाई झलुङ्गे पुलदेखि शैक्षिक क्षेत्रको परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए । गौचनको जीवन सरल र सहज थियो, उनमा कुनै अहंकार र वैभव थिएन् ।

‘गरिब दुःखी घर आएपछि आफूले सकेको सहयोग गर्नुहुन्थयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘उहाँको सादगी जीवनले मलाईं थप प्रेरित गरेको छ र गौचनले देखाएको बाटोमा हामी हिँड्न सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

गौचनलाई स्मरण गर्दै श्रेष्ठले भने– ‘समाज र देशका लागि समर्पित व्यक्तित्व जसले निस्वार्थ रुपमा समाजलाई कसरी विकास गर्ने भन्नेमै उहाँको जीवन बित्याे ।’

राज्यले दिएको सुविधालाई कम खर्च गरेर राज्यको कोषमा दाखिला गर्ने गौचन नै रहेको उनले बताए । साहित्य र सञ्चार क्षेत्रमा रुची भएका गौचन २००८ सालमा प्रकाशित हस्तलिखित सही बाटो नामक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए ।

राज्यले दिएको सुविधामा मायादेवी मन्दिर बनाएर दुई करोड रुपैयाँ बचाएर राज्यको कोषमा दाखिला गर्ने गौचन नै रहेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै ‘नेताहरुले समाजवाद र लोकतन्त्रको नारा दिए पनि त्यो अनुसारको जनताले राज्यबाट सेवा र सुविधा नपाएको र उल्टै सर्वसाधारण नागरिकहरुमा निरासा र आक्रोश रहेको’ उनले भने ।

‘बजेटको आकार बढाएर केजिरिवालले जम्मा पाँच वर्षमा शिक्षा,स्वास्थ्य,सडक,उर्जा,खानेपानी,यातायात र सार्वजनिक सरकारी सेवामा उल्लेखनिय काम गरेको जुन काम भारतको दुई ठुला राजनैतिक दलहरु काग्रेस आइ र भाजपाले गर्न सकेन ।

केजरीवालले शिक्षा निशुल्क र गुणस्तरीय बनाएको,स्वास्थ्यमा धेरै सेवा सर्वसाधारण जनताको हितमा बनाएर मात्र नपुगि मोहल्ला क्लिनिक खोलेर गरिव जनतालाई सेवा दिएको, महिलालाई मात्र हैन विद्यार्थीहरुलाई पनि निशुल्क सार्वजनिक यातायातको व्यवस्था गरेको छ जुन हाम्रो समाजवादको नारामा बनेको सरकारले दिन सकेन ।’

किन हाम्रो देशमा सधै यस्तो हुन्छ ? यसको अन्त्य कहिले हुने हो  ? गरिब जनता र युवाको सपना कहिले पुरा हुन्छ ? श्रेष्ठले प्रश्न गरे ।

‘केजरीवालको राज्यमा मात्र चौविस घण्टा विजुली आउछ र जनतालाई विजुली बाले बापत पनि छुट छ । भारतको अरु कुनै पनि प्रदेश सरकारहरुले चौंविसै घण्टा विजुली दिन सकेको छैन आफनो जनतालाई । हाम्रो घरमा धेरै दिन पानी आउदैन तर केजरीवालले नियमित पानीको व्यवस्था गर्नूको साथै पानीको उपयोगमा पनि विशेष छुट दिएको छ जुन हामीले पनि चाह्यौ भने गर्न सक्छौ’श्रेष्ठले भने ।

सरल र निष्ठावान मान्छे – सांसद पौडेल

सांसद देवेन्द्र पौडेलले स्व। गौचन सक्रिय, जागरूक नेतृत्वकर्ता रहेको भन्दै उनले जिल्लाको विकासका लागि गरेको मेहनत अहिले पनि पश्चिम गाउँका बूढापाकाले बताउने गरेको सुनाए ।

‘जिल्लामा तीन धारको राजनीति थियो, हामीले उहाँलाई नदेख्दा अरूले अर्कै कुरा सुनाउँथे, तरपछि भेट्दा सरलता, निष्ठावान् मान्छे पाएँ,’ उनले सम्झिए ।

‘इतिहास बुझ्दै जाँदा तिब्बत, उपत्यका र इस्ट इन्डिया कम्पनीसँग व्यापारलाई जोड्ने बागलुङ जिल्ला रहेछ, त्यो व्यापारलाई राष्ट्रसँग जोड्ने र त्यहाँबाट राज्यसँग पहुँच राख्ने व्यक्तित्व गौचन नै हुनुहुँदो रहेछ,’ पौडेलले भने ।

गौचनकै प्रेरणादायी सहयोगले कठिन कालखण्डमा अगाडि बढ्ने मौका मिल्यो –  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष  ढकाल

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गौचन हरपल पश्चिमाञ्चलको विकासका लागि सोच्ने व्यक्तित्व भएको बताए ।

‘म काठमाडौं आउँदा बैंकमा सहायक स्तरको जागिरका लागि आवेदन दिएको थिएँ, उहाँले राष्ट्र बैंकका डेपुटी गभर्नरसँग चिनजान गराउनेदेखि मलाई बैंक क्षेत्रमा जोड्न महत्त्वपूर्ण सहयोग गर्नुभएको थियो,’ उनले भने ।

राष्ट्रिय स्तरका बौद्धिक नेता गौचनमा बागलुङबासी र त्यहाँको विकासका लागि सधैं लडिरहने गुण रहेको ढकालले सम्झिए ।

 

गौचनले नेतृत्व गरेको विद्यालयमै पढेर राष्ट्रिय स्तरमा काम गर्ने अवसर पाए – प्रभु बैंकका सिइओ शेरचन

स्मृतिसभामा प्रभु बैंकका सीईओ अशोक शेरचनले स्व। गौचन राजनीतिसँगै शैक्षिक र सामाजिक क्षेत्रमा अझ बढी उल्लेख्य योगदान दिएका प्रतिभाशाली व्यक्तित्व भएको बताए ।

‘गौचन परिवारले नै राणाकालमा सञ्चालनमा ल्याएको विद्यालयमा पढेर म यहाँसम्म आइपुगेँ,’ उनले भने ‘मेरो समयमा त्यो विद्यालय नभएको भए मैले धेरै चिज गुमाउने थिएँ । आजको म रहेको स्थानसम्म आइपुग्न गाह्रो हुने थियो ।’

प्रजातन्त्रप्रति समर्पित र सादा जिवनका सरल व्यक्ति – पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता श्रेष्ठ

यस्तै वरिष्ठ पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गौचन परिवारले प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई बागलुङ, धौलागिरि र पश्चिमाञ्चलको शैक्षिक, राजनीतिक र सामाजिक विकासमा विस।

१९८३ देखि नै महत्त्वपूर्ण योगदान दिएको बताए ।

ओमप्रसाद गौचन र ओमकारप्रसाद गौचनको कुशल नेतृत्वका कारण राणाकालदेखि नै बागलुङ बजारले आफूलाई परिवर्तन गर्न सकेको जनाउँदे उनले तत्कालीन युवाको नेतृत्वमा भएको शैक्षिक, सामाजिक र सांस्कृतिक आन्दोलनको जगमा आधुनिक बागलुङको निर्माण सम्भव भएको बताए ।

 

आधुनिक बागलुङको निर्माता – बागलुङ कल्याण केन्द्र काठमाडौंका अध्यक्ष श्रेष्ठ

बागलुङ कल्याण केन्द्र काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले गौचन राजनीतिक चिन्तकका साथै सामाजिक सेवामा समर्पित व्यक्तित्व भएकै कारणले उनको नेतृत्वमा बृहत् लुम्बिनीको अवधारणा र मायादेवी मन्दिरको निर्माण सम्भव भएको बताए ।

स्मृतिसभामा जनप्रतिनिधि, व्यवसायी, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको उपस्थिति थियो । गौचनको गत कात्तिक २६ गते उपचारका क्रममा काठमाडौंको दीर्घायु अस्पतालमा निधन भएको थियो ।

स्मृति सभामा जनप्रतिनिधि, व्यवसायी, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको उपस्थिति रहेको थियो । गौचनको गत कात्तिक २६ गते उपचारको क्रममा काठमाडौंको दिर्घायु अस्पतालमा निधन भएको थियो ।

को हुन् गौचन ?
१९९२ पुस ९ गते बागलुङ नगरपालिका–३ नारायणचोकमा पिता ओमप्रसाद गौचन र माता पतिसाङ्मोको जेठा छोराको रूपमा जन्मिएका गौचनको गत कात्तिक २६ गते निधन भएको थियो ।

गौचनको सम्पादकत्वमा धौलागिरि अञ्चलमै पहिलोपटक हस्तलिखित साप्ताहिक पत्रिका ‘सही बाटो’ को सम्पादक तथा प्रकाशन भएको थियो । उक्त पत्रिकाले यस क्षेत्रमा पहिलो सञ्चार सामग्रीका रूपमा स्थानीयलाई सुसूचित गर्ने काम गरेको थियो ।

गौचन २०२४ सालमा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । पञ्चायत कालमा उनी शिक्षा सहायक मन्त्री, सञ्चार सहायक मन्त्री थिए ।

उनी २०४२ सालमा गठित पञ्चायतका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह नेतृत्वको सरकारमा वनराज्यमन्त्रीसमेत भएका थिए ।

उनी १९९७ सालमा निर्मित विद्यामन्दिर माविको संरक्षक तथा सल्लाहकार, २००३ सालमा निर्मित विद्यामन्दिर पुस्तकालयको पूर्वअध्यक्ष तथा प्रधान संरक्षक थिए ।

२०३४ सालमा नेपाल परिवार नियोजन संघ बागलुङका संस्थापक अध्यक्ष गौचन २०४८ सालमा नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।

उनी नेपाली कांग्रेस जिल्ला समिति बागलुङका सल्लाहकार पनि थिए । गौचन हुलाक टिकटको संस्था फिलाटेलिक सोसाइटीका पूर्वअध्यक्ष पनि थिए ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका गौचनले २०६० सालमा बृहत्तर लुम्बिनीको अवधारणासँगै मायादेवीको मन्दिर बनाउन नेतृत्व गरेका थिए ।

२०५९ सालमा गौचनले बानपा–३ भूपिचोकमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउन पहल गरेका थिए ।विद्यामन्दिर मावि २०७२ सालको भूकम्पले भत्काएपछि २०७३ सालमा उनकै संरक्षण र अभिभावकत्वमा अत्याधुनिक भवन बनाइएको छ ।

गौचनलाई बागलुङको सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष, इतिहास र जिल्लाका २२ खानीका विषयमा पनि विशेष दक्खल थियो ।

बागलुङको पश्चिमी भेगमा थुप्रै झोलुंगे पुल निर्माण र यस क्षेत्रका धेरै दुर्गम क्षेत्रहरूमा विद्यालय स्थापनाका लागि उनले नेतृत्व गरेका थिए ।

सोही कारण आज बागलुङलाई झोलुंगे पुलको जिल्ला र शैक्षिक हिसाबले साक्षर जिल्ला भनेर चिनिन्छ । गौचनले मुस्ताङको सात सय थाक गाउँका थकालीहरूको भाषा, संस्कृति, परम्परा, व्यापार, ढिकुरी र जीवनशैली समेटेर अनुसन्धानमूलक पत्रिका ‘थाकसाङ’ प्रकाशनको नेतृत्व गरेका थिए ।

याे पनि 

‘मायादेवी मन्दिर बनाउन आफैं ज्यामी बनेँ’

प्रतिक्रिया दिनुहोस्