२३ बैशाख २०८१, आईतवार

 

गुहेली सञ्चारद्वारा गत वर्ष २ करोड ९७ लाखको कारोबार

काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले २ करोड ९७ लाख रूपैयाँ कारोबार गरेको छ ।

सहकारीको १४औं वार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष प्रसाद थापाले सहकारीले आर्थिक वर्ष २०७६,०७७ मा २ करोड ९७ लाख २८ हजार ७ सय ७४ रूपैयाँ कारोबार गरेको जानकारी दिए ।

उनले २०६४ सालमा स्थापना भएको सहकारीले भीमापोखरामा मुख्य कार्यालय राखी हाल बागलुङ बजारमा सेवा केन्द्र स्थापना गरी दैनिक कारोबार गरिरहेको बताए । कोषाध्यक्ष थापाले सहकारीमा हालसम्म ७ सय ७ जना सेयर सदस्य रहेको जानकारी दिए ।

शनिबार सहकारीको वार्षिक साधारणसभाको समापनमा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले सहकारीहरू नाफामुखी नभई समाजप्रतिको दायित्व पनि निर्वाह गर्नुपर्ने बताए ।

उनले सम्पूर्ण नागरिकहरू उत्पादनमा जोडिनुपर्नेमा पनि जोड दिए । खेतीयोग्य जमिन बाँझो रहेको र उक्त स्थानमा अनावश्यक रुखहरू रहेकाले तिनलाई कटान गरी उत्पादनमा लाग्न उनले आग्रह गरे ।

‘तपाईंहरू आफ्ना खेतीयोग्य जमिनलाई बाँझो नराखी उत्पादनमा जोडिनुहोस्,’ थापाले भने, ‘तपाईंहरूले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणको लागि गाउँपालिकाले समन्वय गर्नेछ ।’

कार्यक्रममा काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापति शर्मा, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, सल्लाहकार चन्द्रमणि उपाध्याय, जनकल्याण

आधारभूत विद्यालय काठेखोला–१ पालाका प्रधानाध्यापक बद्रीबहादुर भण्डारी, सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष चूडामणि उपाध्याय, समाजकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर थापा, महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमाकुमारी

गौतमलगायतले मन्तव्य राखेका थिए ।सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्