नेपाल परिवार नियोजन संघ बागलुङले दिवंगत संस्थापक सभापति ओमकारप्रसाद गौचनलाई सम्झँदै बागलुङमा स्मृतिसभा सम्पन्न गरेको छ । २०३४ सालमा बागलुङमा परिवार नियोजन संघ स्थापना गरेका गौचनको गत कात्तिक २६ गते निधन भएको थियो ।
कार्यक्रममा राजनीतिज्ञ तथा शिक्षासेवीसमेत रहेका गौचनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । संघका जिल्ला सभापति निर्माणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य ज्योति श्रेष्ठ, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल,
संघका पूर्वसभापति कृष्णशंकर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष एवं नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्रराजभण्डारी, परिवार नियोजन संघका पूर्वउपाध्यक्ष देवबहादुर श्रेष्ठलगायतले गौचनले बागलुङमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।


वक्ताहरूले जिल्लालाई झोलुंगे पुलको परिचय दिलाउनुका साथै शैक्षिक क्षेत्रको परिवर्तनमा गौचनले महत्त्वपूर्ण योगदान गरेको भन्दै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई बागलुङ, धौलागिरि र पश्चिमाञ्चलको शैक्षिक, राजनीतिक र सामाजिक विकासमा उनको विशेष भूमिकाको स्मरण गरेका थिए ।

कार्यक्रम परिवार नियोजन संघ बागलुङका सचिव करुणप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए ।मुस्ताङको ७ सय थाक थकाली गाउँमा जन्मिएर १९८३ मा बागलुङलाई कर्मथलो बनाएका ओमप्रसाद गौचन र उनका छोरा ओमकारप्रसाद गौचनले आधुनिक बागलुङको निर्माणका लागि विद्यामन्दिर माध्यमिक विद्यालय, विद्यामन्दिर पुस्तकालय, परिवार नियोजन संघ, लुम्बिनी विकास कोषलगायत विभिन्न क्षेत्रमा कुशलतापूर्वक काम गरेका थिए ।
गौचनको नेतृत्वमा संम्भव भयो यी लोभलाग्दा कामहरु
१९९२ पुस ९ गते बागलुङ नगरपालिका–३ नारायणचोकमा पिता ओमप्रसाद गौचन र माता पतिसाङ्मोको जेठा छोराको रूपमा जन्मिएका गौचनको गत कात्तिक २६ गते निधन भएको थियो ।
गौचन २०२४ सालमा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । पञ्चायत कालमा उनी शिक्षा सहायक मन्त्री, सञ्चार सहायक मन्त्री थिए ।उनी २०४२ सालमा गठित पञ्चायतका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह नेतृत्वको सरकारमा वनराज्यमन्त्रीसमेत भएका थिए ।
उनी १९९७ सालमा निर्मित विद्यामन्दिर माविको संरक्षक तथा सल्लाहकार, २००३ सालमा निर्मित विद्यामन्दिर पुस्तकालयको पूर्वअध्यक्ष तथा प्रधान संरक्षक थिए ।
२०३४ सालमा नेपाल परिवार नियोजन संघ बागलुङका संस्थापक अध्यक्ष गौचन २०४८ सालमा नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।उनी नेपाली कांग्रेस जिल्ला समिति बागलुङका सल्लाहकार पनि थिए । गौचन हुलाक टिकटको संस्था फिलाटेलिक सोसाइटीका पूर्वअध्यक्ष पनि थिए ।
लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका गौचनले २०६० सालमा बृहत्तर लुम्बिनीको अवधारणासँगै मायादेवीको मन्दिर बनाउन नेतृत्व गरेका थिए ।२०५९ सालमा गौचनले बानपा–३ भूपिचोकमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउन पहल गरेका थिए ।
विद्यामन्दिर मावि २०७२ सालको भूकम्पले भत्काएपछि २०७३ सालमा उनकै संरक्षण र अभिभावकत्वमा अत्याधुनिक भवन बनाइएको छ ।गौचनलाई बागलुङको सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष, इतिहास र जिल्लाका २२ खानीका विषयमा पनि विशेष दक्खल थियो ।
बागलुङको पश्चिमी भेगमा थुप्रै झोलुंगे पुल निर्माण र यस क्षेत्रका धेरै दुर्गम क्षेत्रहरूमा विद्यालय स्थापनाका लागि उनले नेतृत्व गरेका थिए ।
सोही कारण आज बागलुङलाई झोलुंगे पुलको जिल्ला र शैक्षिक हिसाबले साक्षर जिल्ला भनेर चिनिन्छ । गौचनले मुस्ताङको सात सय थाक गाउँका थकालीहरूको भाषा, संस्कृति, परम्परा, व्यापार, ढिकुरी र जीवनशैली समेटेर अनुसन्धानमूलक पत्रिका ‘थाकसाङ’ प्रकाशनको नेतृत्व गरेका थिए ।



















































































































































































































