प्रस्तावित १६० मेगावाटको लाप्चे जलविद्युत् आयोजनाको निर्माण गर्न लगानी जुटेको छ । प्रतिष्ठित व्यावसायिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको आयोजना नासा हाइड्रोपावर प्रालिबाट निर्माण हुन लागेको हो ।
आयोजना बनाउन २६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपाल बैंकको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत जुटाइदिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । विकासकर्ता नासा हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड तथा बैंकहरूका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमान्डुले १ अर्ब र कृषि विकास बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
उक्त अवसरमा बैंकका अध्यक्ष वासुदेव अधिकारीले सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायत विभिन्न पक्षको समग्र विश्लेषण गरी ऋण लगानीको निर्णय गरेको जानकारी गराए । उक्त अवसरमा विकासकर्ता नासा हाइड्रोपावरका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको आयोजनामा नेपाल बैंक र अरू संस्थाले गरेको सहयोगको सराहना गरे ।
उनले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट बिजुली उत्पादन सुुरु गरिने जानकारीसमेत गराए । आयोजना दोलखा जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ । आयोजना निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीभन्दा माथि नेपाल–चीन सिमानानजिक छ ।
दुगड ग्रुपको लगानीमा बनेको अर्को लिखु खोला जलविद्युत् आयोजना अन्तिम चरणमा छ । ग्रुपको अगुवाइमा लिखुमा १५८ मेगावाटका तीनवटा आयोजना निर्माणाधीन चरणमा छन् ।













































































































































































































