केही दिनदेखि काठमाडौं उपत्यका लगायतका देशका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन थालेको छ । केही समय बिजुली आउने र जाने चारिहेको छ । अझै साँझको ‘पिक’ समयमै बिजुली जाँदा धेरैले सामाजिक सञ्जालमा लोडसेडिङ फर्किने भयो भन्दै नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना समेत गर्न थालेका छन् ।
केही दिन अघि ऊर्जामन्त्रीमा नियुक्त टोपबहादुर रायमाझी भित्रिने वित्तिकै मुलुकलाई लोडसेडिङमा धकेल्न खोजेको भन्दै टिप्पणी हुन थालेको छ ।
केहीले कुलमान घिसिङ गएपछि पुन लोडसेडिङ हुन सक्ने तर्क पनि गरेका छन् । तर, बिजुली त्यसरी अवरुद्ध हुनुको मुख्य कारण प्राधिकरणले बिजुलीको माग र आपूर्ति व्यवस्थापन मिलाउन नसक्नु देखिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ नभइ जोडोमा हिटरको प्रयोग बढेपछि पुरानो तारहरु पग्लन थालेकाले केही समय विद्युत अवरुद्ध भएको बताएका छन् ।
उनले भने, ‘लोडसेडिङ भएको छैन र हुँदैन पनि । अहिले जाडो बढेसँगै काठमाडौंमा माग बढेको छ । माग बढ्दै जान थालेपछि लोडसेडिङ भएको भन्ने लागेको हो तर विभिन्न फिडरमा मानिसहरुले हिटर थप्न थालेपछि समस्या आउन थालेको हो ।’
प्राधिकरणका अनुसार कमजोर भएका तारहरु डिसकनेक्ट भएका छन् । पुरानो सिस्टममा भएको तारमा नयाँ सिस्टमका हिटर जडान हुँदा तार पग्लने समस्या देखिएको छ । यो समस्या जहाँ–जहाँ छ सोही ठाउँमा मर्मत भइरहेको छ । ओभरलोड हुँदा समस्या आएको प्राधिकरणले जनाएको छ ।
गतवर्ष भन्दा यो वर्ष पिक समयमा ५० मेगावाट माग बढेको छ । गत वर्ष १४ सय ७ मेगावाट थियो भने यसवर्ष १४ सय ५७ मेगावाट नाघिसकेको छ । यो अझै बढ्दै जाने देखिएको छ । यसको लागि लोड थेग्न आवश्यक पर्यो भने केही समय फिडर काट्न पनि सकिने शाक्यले भनेका छन् ।
प्राधिकरणका अनुसार, अहिले देशभर बिजुलीको माग अधिकतम बढेर १४५७ मेगावाट पुगेको छ । जुन, गतवर्षको तुलनामा १०० मेगावाट माग बढी हो । गतवर्ष यो बेला बिजुलीको माग साढे १३०० मेगाावटको हाराहारी थियो ।
हाल प्राधिकरणको प्रणालीमा १३६२ मेगावाट मात्रै जडित क्षमता छ । सामान्य समयमा देशभरको बिजुलीको माग १३०० मेगावाट हाराहारी छ । अहिले बिजुलीको माग बढेअनुसार आपूर्ति गर्न स्वदेशी बिजुलीको उत्पादनले धान्दैन् । भारतबाट नै बिजुली आयात नगरी हुँदैन ।
अहिले पनि भारतबाट ५९५ मेगावाट बिजुली आयात भएको छ । देशभर चिसो बढेयता बिजुलीको माग बढ्नु स्वभाविक नै हो । तर, बिजुलीको माग बढ्दा प्राधिकरणले त्यसअनुसार आपूर्ति व्यवस्थापन र प्रणाली सुधारमा ध्यान नदिँदा बारम्बार विद्युत् आपूर्तिमा समस्या आउने गर्छ ।













































































































































































































