१५ कार्तिक २०८३, शनिबार

 

बागलुङबाट चार सडक मानवको उद्वार

बागलुङबाट चार सडक मानवको उद्दार गरिएको छ । सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन सडक आश्रीत मानवहरुको मेची महाकाली राष्ट्रिय उद्दार कार्यक्रम अन्र्तगत बागलुङमा चार जना सडक मानवको उद्दार गरिएको मानवसेवा आश्रम बागलुङ शाखाले जनाएको छ ।

राष्ट्रिय उद्दार कार्यक्रम अन्र्तगत मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी सहित मंगलबार साँझ आएको उद्दार टोलीले बागलुङ शाखा, प्रहरी र स्थानीयको सहयोगमा चारजनालाई उद्दार गरिएको शाखाका अभिभावक बिपना तामाङले जानकारी दिइन् ।

बागलुङ बजारबाट २ बालक, एक महिला र जैमिनी नगरपालिकाबाट एक महिलाको उद्दार गरी मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ । यस्तै पोखराबाट मंगलबार उद्दार गरिएका ५१ जना सडक मानव मध्ये १२ जनालाई उद्दार गरी बागलुङ शाखामा ल्याइएको तामाङले जानकारी दिइन् ।

राष्ट्रिय उद्दार कार्यक्रम अन्र्तगत पोखराको मानवसेवा आश्रममा स्थान अभाव भएका कारण ७ महिला र ५ पुरुषलाई बागलुङ शाखामा ल्याएर आश्रय दिइएको छ । बागलुङलाई २०७८ सालभित्रै सडकमानव मुक्त जिल्ला बनाइने शाखा संयोजक सुमिरा लामाले जानकारी दिइन् ।

नेपाललाई सडक मानव मुक्त बनाउनका लागि मानवसेवा आश्रमले यही पुस ७ गते देखि मेचि महाकाली राष्ट्रिय उद्दार कार्यक्रम शुरु गरिएको छ । उद्दार कार्यक्रम अन्र्तगत बागलुङ सहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा रहेका सडक मानवलाई उद्दार गरेर बागलुङ शाखामा ल्याउने तयारी छ ।

२०७३ चैत्र २१ गते बागलुङ शाखाको रुपमा स्थापना भएको मानव सेवा आश्रममा अहिले ३४ जना आश्रीत रहेका छन् । यस वर्ष उद्दार गरेका ३० जना मध्ये ४ जनाको पुर्नमिलन, १ जनाको मृत्यु, ८ जनाले आश्रम छोडेको र १ जनाको स्थानान्तर गरेको शाखा संयोजक सुमिरा लामाले बताइन् ।

कार्यक्रममा मनकुमारी केसीले सडक मानवमुक्त देश बनाउने उद्देश्यका साथ हिडेका मानव सेवा आश्रमका युवाहरु जस्तै सयौँ युवायुवती यो देशमा खड्किएको बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मानवीय चेतना अभिबृद्धि भएता मात्रै सडक मानवमुक्त हुन सक्ने भएकाले बृद्धबृद्धाहरुलाई आफ्नै परिवारको सहयोग आवश्यक रहेको बताए । भावुक हुँदै न्यौपानेले भने ‘वृद्धवृद्धा किन सडकमा आउँछन्, त्यो परिवारको हेलापनले पनि होला ।’

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, बागलुङ नगरपालिका ८ सिगानाका वडा अध्यक्ष राजिन जिसी, बानपा ५ का अध्यक्ष शिवप्रसाद सापकोटा, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, महिला संघका अध्यक्ष शकुन्तला शर्मा, मानव सेवा आश्रमका महासचिव शुशिला केसी लगायतले बोलेका थिए ।

बानपा ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ शर्माले गरेका थिए ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung