३० बैशाख २०८२, मंगलवार

 

मद्रासदेखि बागलुङसम्म : मीनाको ‘दुःखभरी’ कहानी

- परस्त्रीसँग लागेका प्रकाशले आफ्नै छोरीलाई दाइको छोरी बनाएर भारत पुर्याए

उनको नाम मीना शर्मा हो । आफन्तले ‘बनमरी’ पनि भन्छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ पुग्नु अनि क्लियर ब्यागमा रहेका कागजपत्र फिँजाउँदै अनुनय गर्नु अहिले उनको नियति बनेको छ ।

नेपाली भाषा जान्दिनन् । प्रहरीलाई उनले भनेको बुझ्नै मुस्किल पर्छ । छोरीलाई भने नेपाली भाषा आउँछ । त्यसैले मीना छोरीलाई पनि सँगै लिएर जान्छिन् । पाँच पटक भो उनी प्रहरी कार्यालय धाएको । सीमापारबाट ‘दुःखभरी’ कहानी बोकेर आएकी उनको एउटै बिलौना छ– ‘श्रीमान्लाई खोजिदिनुप¥यो ।’

मीना सन् २००० मा भारत, मद्रासको पन्डिच्योरीमा अध्ययन गर्थिन् । साथीहरूमार्फत प्रकाश शर्मासँग चिनजान भयो । बागलुङका प्रकाश रोजगारीको सिलसिलामा त्यहाँ पुगेका थिए । विस्तारै उनीहरूबीच प्रेम बस्यो । होस्टल बस्ने बनमरी बेलाबेलामा भागेर भेट्न जान्थिन् ।

प्रकाश महाराष्ट्रमा आइसक्रिमको व्यापार गर्छु भन्थे । बनमरीलाई भेट्दा खर्चबर्च पनि दिइरहन्थे । प्रकाश भारतकै आइसक्रिम व्यापारी हुन् भन्नेमा मीना विश्वस्त थिइन् ।

मीना कक्षा १० मा पढ्थिन् । प्रकाशले विवाहको प्रस्ताव गरे । प्रेममा चुर्लुम्मै डुबेकी मीनालाई निर्णय लिन समय लागेन । सन् २००२ मा उनीहरूले बिहे गरे । एक वर्षपछि छोरी जन्मिइन् । परिवार सुखी थियो । प्रकाशले सुत्केरी पत्नीलाई राम्रै स्याहार–सुसार गरे । एक वर्षपछि फेरि अर्की छोरी जन्मिइन्– प्रिया ।

अब विस्तारै प्रकाशको व्यवहार बदलिन थाल्यो । उनी कोठामा कमै आउन थाले । काम गर्न जाने भन्दै निस्किएका उनी साता, दस दिनमा एकचोटि मात्र आउँथे । खर्चसमेत दिन छाडेपछि मीनालाई छोरीहरू हुर्काउन मुस्किल पर्न थाल्यो । पति आउँदै नआउने, आए पनि कराउने–पिट्ने गर्न थाले ।

समय बित्दै गयो । सन् २०१० मा श्रीमान् परस्त्रीसँग लागेको मीनाले थाहा पाइन् । ‘त्यसपछि मैले सहन सकिनँ, प्रहरीलाई खबर गरेँ, प्रहरीले खोजेर त ल्याइदियो,’ उनले भनिन्, ‘तर व्यवहार बदलिएन ।’ यति भन्दा उनको आँखामा आँसु टिलपिल देखिन्थ्यो ।

त्यति बेला श्रीमान्लाई खोजिदिन भनी प्रहरीमा दिएको उजुरीको प्रतिलिपि उनीसँग अहिले पनि छ ।

सन् २०१५ मा मद्रासको कोठामा भएका सामान बेचेर प्रकाशले उनीहरूलाई आसाम लिएर गए । त्यहाँ उनकी बहिनी बस्थिन् । केही दिनको आसाम बसाइपछि उनीहरू बागलुङको कुस्मिसेरा आए । बल्ल मीनाले थाहा पाइन्, प्रकाश भारतीय नागरिक नै होइन रहेछन् । उनको घर साबिक कुस्मिसेरा गाविस–६ मा पर्छ ।

केही समयपछि प्रकाश घरमा काम नभएको भन्दै काठमाडौं गए । पत्नीले लगाएको सुनको सिक्री बेचेर हिँडेका थिए । त्यसपछि फर्किएनन् । जेठी छोरी कविताले सुनाइन्– ‘हाम्रा लागि गाउँ नयाँ थियो, बुबा काठमाडौं गएपछि गाउँलेकै सहयोगमा बाँच्यौं ।’

श्रीमान् नफर्किएपछि मीनाले कुस्मिसेरा प्रहरीमा उजुरी दिइन् । प्रकाश काठमाडौंमै रहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसरमै पुगेर निवेदन दिइन् । ‘परस्त्रीसँग लाग्ने श्रीमान्लाई कसैले मार्दिने पो हो कि भन्ने डर पनि थियो,’ उनले भनिन्, ‘त्यसैले पनि खोज्न त्यहाँसम्म पुगेँ ।’

काठमाडौंमा प्रकाशकी बहिनी बस्थिन् । उनैमार्फत प्रहरीले प्रकाशलाई फेला पा¥यो । प्रहरी कार्यालयमा प्रकाशले पत्नीसहित दुई छोराछोरीलाई पाल्ने जिम्मेवारी लिँदै मिलापत्र गरे ।

अब त श्रीमान् सधैंलाई आफ्ना लागि होलान् भन्ने मीनालाई लागेको थियो । ‘तर उहाँको बानी पहिले जे थियो, पछि पनि त्यस्तैै भयो,’ उनले सुनाइन् ।

कुस्मिसेरा आए पनि कमाइ थिएन । छाक टार्नै मुस्किल प¥यो । प्रकाश उसै गरी हराउने र कहिलेकाहीँ आउने गर्न थाले ।  केही सीप नलागेपछि मीना आफैं कमाउन भनी भारत गइन् । छोरीहरू गाउँमै बसे, गाउँलेको सहारामा ।

मीना भारतबाट छोरीहरूका लागि पैसा पठाउँथिन् । त्यो पैसा श्रीमान्कै नाममा पठाउनुको विकल्प थिएन । तर मीनाले पठाएको पैसा छोरीहरूको हातमा परेन । प्रकाशले नै सबै पैसा कुम्ल्याएर फेरि काठमाडौं हिँडे । ‘आमाले पठाएको पैसा हामीलाई नदिई काठमाडौं जानुभएको थियो, केही दिनपछि अर्की आमा लिएर आउनुभयो,’ प्रियाले भनिन् ।

दाेस्राे पत्नीसँग विवाह दर्ता

प्रकाशले २०७३ मा काठमाडौंमा सोममाया रेस्मीसँग दोस्रो विवाह गरेका रहेछन् । उनले २०७३ जेठ ३० गते रेस्मीसँग विवाह गरेको भनी दर्तासमेत गराएका छन् । त्यसपछि उनी दोस्री पत्नीसहित घर आएर केही समय छोरीहरूसँगै बसे ।

त्यसपछि उनले आफ्नै छोरीहरूलाई दाजुका छोरी भनी गाविस कार्यालयबाट सिफारिससमेत बनाए । उक्त सिफारिस तत्कालीन गाविस सचिव दुर्गाप्रसाद शर्माले २०७३ असार ८ गते बनाइदिएको देखिन्छ । सिफारिसमा छोरीको नाम परिवर्तन गरी गंगालक्ष्मी शर्मा र ऐश्वर्या शर्मा लेखिएको छ । उनीहरू भारतमा बुबालाई भेट्न जान लागेको भन्ने गलत बेहोरा लेखाएर प्रकाश पनि सोममायासहित उतै गए ।

तत्कालिन वडा सचिव दुर्गाप्रसाद शर्माले दिएकाे गलत सिफारिस

मीनाले मनमा ढुंगा राखेर भए पनि यतिसम्म चित्त बुझाएकै थिइन् । सकेसम्म परिवार नबिथोलियोस् भन्ने चाहिन् । भारत गएको केही समयपछि सोममायाले छोरा जन्माइन् । तर, प्रकाशको व्यवहार फेरिएन । उनी फेरि अरूसँगै सल्किन थाले । यो थाहा पाएपछि सोममाया छोरालाई भारतमै छाडेर नेपाल आइन् । छोरा नन्दीश अहिले तीन वर्ष पुगे । उनलाई मीनाले नै हुर्काइरहेकी छिन् । सोममाया अहिले सम्पर्कमै छैनन् ।

सोममाया हिँडेपछि प्रकाश हिमाचल प्रदेशमा होलसेल व्यापार गर्न जान्छु भनेर हिँडे । तर, उनी नेपाल पुगेछन् । तीन सन्तान हुर्काउन आफूलाई निकै समस्या परेको मीना सुनाउँछिन् ।

‘कोरोनाले लकडाउन भयो,’ उनले भनिन्, ‘पहिले तीन जना थियौं, पछि चार जना भयौं । म एक्लैले सबैलाई पाल्न नसकेपछि नेपालै आयौं ।’

कुस्मीसेराको घर भूकम्पले भत्काएपछि उनका सासू–ससुरा पनि बागलुङ बजारमा मजदुरी गर्दै भाडामा बस्दै आएका छन् ।

श्रीमान खोजिदिन जिल्ला प्रहरी कार्यालय बागलुङमा

अहिले प्रकाशको फेसबुक आईडीबाट छोरीको मोबाइलमा ‘प्रकाश मेरो पति’ हो भन्दै अर्कै महिलासँगको फोटो र म्यासेज आउने गरेको मीना सुनाउँछिन् । उनीहरूले उक्त म्यासेजको फोटोकपी, प्रकाशको नागरिकता र फोटो प्रहरीमा बुझाएका छन् ।

अहिलेसम्म जेनतेन सहेकी मीना पछिल्लो घटनापछि थप विक्षिप्त भएकी छन् । कम्तीमा छोरीहरूको नागरिकता र पढाइको जिम्मा प्रकाशले लिनुपर्ने उनको माग छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले प्रकाशको खोजी भइरहेको बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung