३ श्रावण २०८३, आईतवार

 

खेर जाने बिजुली बेच्न प्राधिकरणको पहल

उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत् विद्युत् उपलब्ध गराउन आह्वान गरिएको टेन्डर प्रक्रियामा प्राधिकरण पनि सहभागी रहेको प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

प्राधिकरण २५ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्तावसहित टेन्डर प्रक्रियामा सहभागी भएको उनले बताए । ‘प्राधिकरणसँग जुन अतिरिक्त विद्युत् बाँकी रहन्छ त्यसलाई निर्यात गर्ने गरी पहिलो पटक विद्युत् नियमन आयोगसँग अनुमति लिएर २५ मेगावाट बिक्री गर्ने प्रक्रिया अघि बढाएका हौँ,’ तिम्सिनाले भने ।

टेन्डर आह्वानअनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई विद्युत् बेच्ने तयारी प्राधिकरणको छ । प्राधिकरणले ४ सय किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत विद्युत् बेच्ने तिम्सिनाले बताए । ‘यो नेपालका लागि नयाँ हो, पहिलो हो, त्यसकारण परीक्षणजस्तै गरेर अघि बढ्ने छ,’ उनले भने ।

प्राधिकरणले भारतबाट विद्युत् किनिरहेको मूल्यलाई नै आधार मानेर बिक्रीको प्रस्ताव गरेको बताइएको छ । ‘भारतीय रुपैयाँ ४ रुपैयाँ १८ पैसामा त्यही ढल्केबर–मुजफ्फरपुरबाटै विद्युत् किनिरहेका छौँ । त्यही मूल्य हुन्छ । त्यसमा करलगायतका केही अन्य कुरा थप हुन्छन् होला,’ उनले भने ।

बर्खायाममा नेपालमा विद्युत् उत्पादन बढी र माग कम हुने गरेको छ । कतिपयले आन्तरिक बजारमै नेपालले विद्युत् पु¥याउन नसकेको अवस्थामा निर्यात गर्न लागिएको भन्दै प्रश्न उठाइरहेका छन् । यसबारे तिम्सिनाले भने, ‘अहिलेकै हिसाबमा यो कुरा सत्य हो । अहिले हामी लगभग ६ सय मेगावाट आयात नै गरिरहेका छौँ । त्यसैले यो पहल मे वा जुन महिनापछि जति बेला हाम्रोमा ऊर्जा खपत घटेर खेर जाने अवस्था हुन्छ त्यस बेलाका लागि हो ।’

नेपालमा प्रायजसो आयोजनाहरू नदीको बहावमा आधारित छन् जसकारण बर्खा याममा तुलनात्मक रूपमा खपत कम हुने भए पनि उत्पादन भने उच्च रहन्छ । नदीको बहाव घट्ने हालको समयमा पिक लोड झन्डै करिब १,५०० मेगावाटको हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ ।

सुक्खा याममा त्यो घटेर करिब ९०० मेगावाटमा झर्ने प्राधिकरणको भनाइ छ । हाल प्राधिकरणअन्तर्गतका आयोजनासँग करिब ५८० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको अधिकारीहरू बताउँछन् । त्यस्तै निजी क्षेत्रसँग ७२५ मेगावाट उत्पादन गर्ने क्षमता रहेको बताइन्छ ।

‘त्यसैले बेच्नका लागि पर्याप्त हुन्छ । हिउँदमा प्राधिकरणअन्तर्गतको उत्पादन ५२० मा झरेको छ भने निजी क्षेत्रको ३१० सम्म झरेको छ । ती बर्खामा पूरै आउँछन्,’ तिम्सिनाले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung