कतारमा प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तर्वाता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुुकवा गरेका छन् ।
वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला मन्त्री चौधरीले शुक्रबार फुकुवा गरेका हुन् । कारबाही फुकुवा गर्नेबारे मन्त्रीले लेखेको पत्र सोमबार विभाग पुगेको छ ।
गत मंसिर ८ गते एसओएसले अवैध अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागबाट खटिएको अनुसन्धान टोलीले छापा मारी कारबाही गरेको थियो । छानबिन पूरा नभएसम्म विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनललाई ६ महिनासम्म निलम्बन गरेको थियो । मन्त्री चौधरीले अहिले एसओएसलाई मात्रै फुकुवा गरिदिएका हुन् ।
विभागले म्यानपावर कम्पनीमाथि गरेको कारबाही कानुनसम्मत नभएको र उचित कानुनी प्रक्रिया पूरा नगरेको मन्त्री चौधरीले निर्णयमा लेखेका छन् । ‘विभागबाट मंसिर ८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम एसओएसले वैदेशिक रोजगार ऐनको दफा १५ र १६ विपरीत कामकारबाही गरेको पुष्टि हुने कागजात प्रमाण बरामद भएको नदेखिएको,’ निर्णयमा भनिएको छ, ‘साथै विभागबाट मंसिर ८ गते नै ऐनको दफा ६१ को उपदफा ७ बमोजिम संस्थाको हाल ६ महिनाका लागि सम्पूर्ण कामकारबाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायिक सिद्धान्तविपरीत एवं कानुनसम्मत भएको नदेखिँदा विभागबाट गरिएको उक्त निर्णय बदर गरी एसओएसले नियमित कामकारबाही गर्न पाउने निर्णय गरिदिएँ ।’
एसओएस नेपालबाट सबैभन्दा बढी श्रमिक पठाउने म्यानपावर कम्पनीभित्र पर्छ । एसओएसका अध्यक्ष हेमबहादुर गुरुङले नै कतार भिसा सेन्टर चलाउँदै आएका छन् ।
पूर्वश्रममन्त्री गोकर्ण विष्टले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई पुनरावलोकन गरी कतार भिसा सेन्टर खोल्न अनुमति नदिएपछि गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सेन्टर सञ्चालन गर्न परराष्ट्रलाई निर्देशन दिन लगाएका थिए ।
उनलाई तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले पनि वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्ति गरेका थिए । उक्त निर्णय विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए ।



















































































































































































































