
प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका मन्दिरमा हुने भजन–कीर्तनको बेग्लै महत्त्व र पहिचान छ । यहाँ पुस्तौंदेखि भजन–कीर्तन हुँदै आएकोमा बीचमा केही वर्ष अवरोध भयो । तर आठ वर्षयता यो परम्पराले फेरि उसै गरी नियमितता पाइरहेकै छ ।
शनिबार, मंगलबार तथा विशेष चाडपर्वका अवसरमा बिहान नियमित रूपमा भजन–कीर्तन हुन्छ । यसका लागि भजन समिति गठन गरी सानो कोषको समेत व्यवस्था मिलाइएको छ ।
मलाई विश्वास छ, अब यहाँ व्यवसायिक रूपमै भजन–कीर्तन अगाडि बढ्नेछ । बागलुङ कालिका मन्दिरमा सत्संग तथा भजन–कीर्तनलाई मर्यादित र व्यवस्थित रूपमा निरन्तरता दिन थप योजना ल्याइने छ । पछिल्लो समय ऐतिहासिक चैत्राष्टमी मेलामा भजन प्रतियोगितासमेत समावेश गरिएको छ ।
बागलुङ कालिका मन्दिरमा भइरहेको भजन–कीर्तनले मन्दिरको महिमा र महत्त्वलाई अझै बढाएको छ । बागलुङमा धार्मिक पर्यटनको कुरा गर्दा यो पक्षलाई छुटाइयो भने अन्याय हुन सक्छ ।
जिल्लामा जति पनि मठमन्दिर छन्, ती प्रायः ऐतिहासिक पृष्ठभूमिका छन् । ती सम्पदाहरूमा भजन–संस्कृति पनि सँगसँगै छ । विभिन्न कारणले समस्यामा परेका मठमन्दिर तथा भजन संस्कृतिलाई अबको पुस्ताले जुरुक्कै बोक्नुपर्ने अवस्था आएको छ । समयले दिएको यो जिम्मेवारीलाई हामीले गम्भीर रूपमा लिनै पर्छ । पुर्खाको चिनारी, पहिचान र मौलिक संस्कृति जगेर्ना गर्न हामीले व्यावसायिक सोचका साथ संगठित रूपमै प्रस्तुत हुन सक्नुपरेको छ ।
अब रातभर वा दिउँसभरि भजन गाउनेलाई चिया, रोटी र फलफूल खुवाएका भरमा भजन संस्कृति जोगिँदैन । एउटा पप गीत वा दोहोरी गाउनेले गीत गाएर जीवन चलाउन सक्छ भने भजन गाउनेचाहिँ किन सधंै जीविकाकै संकटमा रहनुपर्ने ? अन्य गीतसंगीतजस्तै भजन–कीर्तनलाई पनि व्यावसायिक रूप दिनुपर्छ ।
भजन भनेको ब्राह्मण अनि बूढापाकाहरूले मात्रै गाउने–बजाउने हो भन्नु गलत हो । यसै गरी युवा पुस्तालाई भजन संस्कृतिप्रति आकर्षित गर्न पुरानो पुस्ता जिम्मेवार बन्नुपर्छ । नयाँ पुस्ताले पनि रुचि देखाउन आवश्यक छ । अहिले क्रमशः शंख बजेको सुनिन छाड्यो । घर, आँगन, चौतारी, पोखरी, पाटी, पौवा, मठ, मन्दिरमा साँझ–बिहान भजन, चुट्का गुन्जिन छाडे ।
हाम्रो समाजको पहिचान, संस्कृति, परम्परा र कलाका हिसाबले पनि भजनलाई विशेष संरक्षण आवश्यक छ । भगवान्का लीला, पौराणिक पात्रको कथा, शास्त्रको बयान र व्याख्या सहज, सरल तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने सशक्त माध्यम भजन नै हो । भजनमा सहभागी हुँदा र सुन्दा पुण्य मिल्ने जनविश्वास छ । भजन आत्मशान्तिका लागि पनि उत्तिकै प्रभावकारी माध्यम हो ।
हाम्रो सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ । हामीले भनेजस्तै भजनलाई व्यावसायिक रूपमै लैजान सके रोजगारी सिर्जना, प्रतिभाको उदय, कला र क्षमताको अभ्यासका साथै संस्कृति संरक्षण हुने पक्का छ । साथै भजनका विभिन्न प्रशिक्षण, प्रतियोगिता तथा परम्परागत वाद्यवादनका सामग्रीको प्रयोगले आर्थिक गतिविधिमा समेत महत्त्व बढ्ने थियो ।
घरघरमा मादल, मुरलि, बाँसुरी, खैँजडी आदिको उत्पादन बढ्ने र उत्पादकलाई आर्थिक लाभ हुने थियो । यससँगै सहजै यी सामग्री उपलब्ध हुने थिए । वाद्यवादनका सामग्रीको उपलब्धताले भजन–कीर्तन सञ्चालनमा सहज वातावरण बन्नेछ । छरछिमेक, आफन्त र साथीभाइ जम्मा भएर आफ्नो धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान झल्कने गरी भजन कीर्तन गर्दै, नाच्दै आपसमा सद्भाव, शान्ति, सुखदुःख साटासाट गर्दाको आनन्द निकै महत्त्वपूर्ण हुन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।
बागलुङमा भजन–कीर्तनलाई संस्थागत रूपमा विकास गर्न केही सकारात्मक प्रयासहरू सुरु पनि गरिँदै छ । चर्चित कलाकार प्रजापति पराजुलीले नेतृत्व गरेको राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको बागलुङमा पनि जिल्लास्तरीय समिति गठन गरिएको छ । यो समितिले बागलुङमा पक्कै पनि व्यावसायिक योजनाका साथ भजन–कीर्तनलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।