अभिनेता यशको ‘केजीएफ–२’ प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म हो। प्रशान्त निलद्वारा निर्देशित यो फिल्म आगामी जुलाई १६ मा सार्वजनिक हुने गत शुक्रबार घोषणा भएपछि दर्शक उत्साहित बनेका छन्।
दक्षिण भारतीय स्टार अभिनेता यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग राखेको डीएन इन्टरटेनमेन्टले जनाएको छ।
‘यश फ्यान ग्रुप’ले ट्विटरमा भारतीय प्रधानमन्त्रीलाई लेखेको त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘हामी सबैलाई थाहा छ यशको बहुप्रतीक्षित फिल्म केजीएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदै छ।
दर्शकहरू फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्ममात्र हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला’, पत्रमा लेखिएको छ । केजीएफ २ सार्वजनिक हुने मिति जानकारी गराइएसँगै अभिनेता यशका प्रशंसकका लागि प्रतीक्षाको समय छोटिएको हो।
यो फिल्म हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ। यशबाहेक श्रीनिधि शेट्टी र रविना टन्डन फिल्मका मुख्य कलाकार हुन्। फिल्ममा अनन्त नाग, प्रकाश राज, माल्भिका अविनाश, अच्युत कुमार र अर्चना जोइस सहायक कलाकारका रूपमा देखिनेछन्।
अभिनेता यशको जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सन् २०१८ मा प्रदर्शन भएको फिल्मको पहिलो भाग अत्यधिक चर्चित भएको थियो।













































































































































































































