१५ कार्तिक २०८३, शनिबार

 

प्रहरीले लाइसेन्स र बिलबूक माग्दै गर्दा पल्टिएकी महिलालाई बसले किच्यो

ललितपुरको जावलाखेलमा ट्राफिक प्रहरी चेकिङका क्रममा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । एकान्तकुनाबाट जावलाखेलतर्फ आउँदा टेलिकम पछाडिको सडकमा महानगरीय ट्राफिक प्रहरीका १ जवानले लाइसेन्स र बिलबूक माग्दा हडबडिएर लडेपछि ती महिलाको मृत्यु भएको बताइएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार ती महिलालाई प्रहरीले लाइसेन्स माग्ने क्रममा लडेपछि पछाडिबाट आएको लगनखेल, जावलाखेल, एकान्तकुना, भैसेपाटी हुँदै इकुछाप चल्ने बा२ख ३५७४ नम्बरको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

‘हामीले त्यहाँको अवस्थाको सीसीटीभी फुटेज हेर्दैछौं । त्यसपछि सत्यतथ्य के हो पत्ता लाग्ला,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्ज्वल महर्जनले भने, ‘यदि प्रहरीको गल्ती देखिएमा कारवाही हुन्छ ।’

दुर्घटनामा परेकी महिलालाई प्रहरीले नजिकैको अल्का अस्पतालमा राखेको छ । उनको घटनास्थलमै मृत्यु भइसकेको थियो । अन्दाजी ३०–३५ वर्षकी मंगोलियन अनुहार भएकी महिला को हुन् भन्ने पहिचान खुलेको छैन ।

उनको शरीरबाट परिचय खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले उनी चढेर आएको प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको होण्डा कम्पनीको डियो स्कूटरको आधारमा यातायात व्यवस्था विभागमा सम्पर्क नम्बर खोजिरहेको प्रवक्ता एसपी महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung