
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलबाट हटाउने बताएकी छन् ।
बागलुङको जैमिनी नगरपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई संसदीय दलबाट हटाउने बहुमत आफूहरुसँग भएको बताएकी हुन् । ओलीले संसद् विघटन गरेर पार्टीलाई विभाजन गराएको भन्दै अब ओलीलाई संसदीय दलबाट हटाएर नेकपाबाटै प्रधानमन्त्री चुनिने बताएकी छन् ।
प्रधानमन्त्री ओलीले ३ वर्षमा जनताको काम गर्न नसकेको भन्दै ओली पक्षमा लागेर सति नजान कार्यकर्तालाई आग्रह गरिन् । ‘ओलीले ३ वर्षको अवधिमा काम भन्दा टुक्का बढी सुनाए ,’ ‘अब बन्ने नेकपाको सरकारले ३ वर्षमा हुन नसकेको काम २ वर्षमा गरेर देखाउने छ’ उनले भनिन् ।
अब बन्ने कम्युनिष्ट पार्टीमा खड्गप्रसाद ओली र वामदेव गौतम नहुने बताइन् । ओली र गाैतमले कम्युनिष्ट आन्दोलनलाई भताभुंग पार्ने काम गरेको भन्दै उनीहरुसँग पार्टी एकता नहुने बताएकी हुन् । ‘राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी हाम्राे नेतृत्वमा आउनुहुन्छ भने हामी स्वागत गर्न सक्छौं, तर ‘ओली र वामदेवसँग एकता गर्दैनाैँ ।’