बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीय हर्षित भएका छन् । बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरणको बागलुङ वितरण केन्द्रले विद्युत्–सेवा विस्तार गरेको हो ।
वडाभित्रका ११ घरधुरी विपन्न परिवारलाई निस्शुल्क रूपमा विद्युत् मिटरसमेत वितरण गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए ।
विपन्न घरधुरीलाई केन्द्रीय विद्युत्–सेवाबाट वञ्चित हुन नदिने प्राधिकरणको अभियानअन्तर्गत मिटर उक्त कार्य गरिएको उनले बताए । ‘सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको छ,’ गोशलीले भने ।
यसअघि सल्यानबासी लामो समयदेखि स्थानीय लघु जलविद्युत्को भरमा थिए । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडाभित्रका १ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
सल्यानको राँजरुख टोल र कालेसोरा टोलका ६९ घरधुरीले ३ वर्षपहिलेदेखि नै बरेङ गाउँपालिका–५ सुखौरमा रहेको ट्रान्सफर्मरमार्फत केन्द्रीय विद्युत् उपभोग गर्दै आइरहेका छन् । यससँगै सल्यानमा पूर्ण रूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जनबहादुर खत्रीले जानकारी दिए ।
निस्शुल्क मिटर बक्स प्राप्त गरेपछि विपन्न परिवार खुसी भएका छन् । आर्थिक अभावमा विद्युत्–सेवाबाट वञ्चित हुनुपरेकोमा अब मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न–लेख्नसमेत सहज हुने स्थानीय सञ्जु विश्वकर्माको भनाइ छ ।
सल्यानमा केन्द्रीय विद्युत् नहुँदा यसअघि साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ रहेकोमा अब उक्त समस्या समाधान भएको ४ नम्बर वडाध्यक्ष लीलबहादुर खत्रीले बताए ।
‘लघु जलविद्युत् सञ्चालन गर्दा थुप्रै चुनौती सामना गर्नुपरेको थियो,’ उनले भने, ‘अब उक्त समस्या टरेको छ ।’ केन्द्रीय विद्युत् उद्घाटन गर्न आयोजित कार्यक्रममा खत्रीले बागलुङ वितरण केन्द्रलाई आवश्यकताअनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापनसम्बन्धी मागपत्रसमेत बुझाएका छन् ।
त्यस्तै प्राधिकरणले बरेङ–५ सुखौराका ५ विपन्न परिवारलाई पनि निस्शुल्क मटिर वितरण गरेको वडाध्यक्ष अमरबहादुर शेरपूजाले जानकारी दिए ।
कार्यक्रममा वितरण केन्द्र प्रमुख, प्राविधिकहरूसँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत् आयोजनामा प्राविधिकका रूपमा सेवा गरेकाहरूलाई सम्मान गरिएको थियो ।













































































































































































































