
फाइल तस्बिर
बागलुङ नगरपालिकाभित्र व्यवस्थित सवारी पार्किङ स्थल नहुँदा बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । बजार क्षेत्रभित्र व्यवस्थित पार्किङ नहुँदा सदरमुकाम भित्रिने सवारीसाधनले दुर्घटनाको जोखिम बढाएको हो ।
गण्डकी प्रदेशको दोस्रो ठूलो व्यापारीक केन्द्र बागलुङ बजारक्षेत्र भित्र व्यवस्थित पार्किङ नहुँदा दुर्घटनाको जोखिमसँगै सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बागलुङ बजारमा रहेको बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्ने ठाउँ नै नहुने भन्दै बजार क्षेत्रको एकतर्फी रुपमा पार्किङ गर्दा बजार अव्यवस्थित एवम् कुरूप देखिएको छ ।
पुरानो संरचना अनुसार बनेको बागलुङ बजारमा मोटर साइकल, स्कुटरलगायतका सवारीसाधन प्रयोग गर्ने उपभोक्ता ह्वात्तै बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सरोकारवालासँग समन्वय गरेर बजार भित्र ३–३ दिन एकतर्फी पार्किङ गर्ने व्यवस्था गरेको छ ।
जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रुलाई हिँड्डुल र दुर्घटनाको समेत जोखिम बढेको छ । ‘दैनिक सयौं सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिम समेत बढेको छ,’ फेन्सी व्यवसायी हरि सुवेदीले भने, ‘बजारक्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, विभिन्न वाहनामा सवारी पार्किङ गर्ने गर्दा दैनिक जसो सडक जाम भइरहेको छ ।’
बागलुङ नगरपालिकाले पटक–पटक बजार व्यवस्थापन गर्न ठेलालगायतका व्यापार बजार भित्र गर्न नपाइने, सवारी पार्किङ व्यवस्थित रूपमा बनाउनुपर्ने भनेर प्रचारप्रसार गरेपनि निर्वाचित प्रतिनिधि आएको ३ वर्ष बितिसक्दा समेत १ प्रतिशत पनि प्रगति हुन नसकेको बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए ।
बजारमा ४ दर्जनभन्दा बढी बैंक वित्तिय संघसंस्था संचालनमा भएपनि कसैले पनि सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाएका छैनन् ।
ट्राफिक प्रहरी बागलुङले पटक–पटक पार्किङ निषेधका बोर्ड लगाउनुका साथै जरिवाना र जनचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको भएपनि सडकमा मोटरसाइकल तथा साना गाडीहरु राख्न छाडिएकाे छैन । यता, व्यवस्थित पार्किङ स्थल नभएकोले सडकमा राख्नु पर्नै बाध्यता रहेको सवारीसाधनका चालकहरू बताउँछन् ।
राजमार्ग मात्र नभई सदरमुकाम आसपासमा आवागमन गर्ने मुख्य सडकको विषयमा पटकपटक आवाज उठिरहँदा पनि नगरपालिकाले गम्भीरतापूर्वक सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाउन नसक्दा बजार क्षेत्र व्यवस्थित हुन सकेको छैन ।
नगरपालिकाले बजारभित्र पार्किङ स्थल बनाउने कुरा पटक–पटक गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन । पार्किङ गर्ने ठाउँ नहुँदा बजार झन साँघुरो र कुरूप बन्दै गइरहेको छ ।