१६ कार्तिक २०८३, आईतवार

 

जेठी जंगली चरीले ७० वर्षमा कोरलिन् बचेरा

विश्वकै सबैभन्दा जेठी जंगली चरी मानिएको विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरा कोरलेको छ। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिस एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो।

सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलो पटक पहिचान गरेका थिए। वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नामक भालेको समागमबाट बचेरो पाएको हो।

सन् २०१२ देखि उक्त चरी एकीआकामाईसँग बस्दै आएको छ। सामान्यतया एल्बाट्रसहरू एक पटक मात्रै जीवनसाथी बनाउँछन्। तर लामो समयसम्म बाँचिरहेको विज्डमका पहिलाका जीवनसाथीहरू मरिसकेका ठानिएको छ। विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो।

‘विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ,’ अमेरिकी फिस एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ। त्यसलगत्तै जब एल्बाट्रस आहाराका लागि समुद्रतिर फर्कियो, उसको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो।

एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छ। विज्डमले आफ्नो जीवनकालमा ३० देखि ३६ वटा बचेरो कोरलेको अमेरिकी फिस एन्ड वाइल्डलाइफ सर्भिसको विश्वास छ। अमेरिकामा मिडवे एटल वाइल्डलाइफ रिफ्युज सबैभन्दा धेरै एल्बाट्रसहरूको वासस्थान हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung