१९ भाद्र २०८३, शुक्रबार

 

बागलुङको एक फर्निचरमा आगलागी  : २ घाइते

बागलुङ नगरपालिका ३ गुठीमा रहेको एक फर्निचर उद्योगमा गएराती भिषण आगलागी भएको छ । बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा अवस्थित सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा १८ लाख ५० हजार बराबरको क्षति भएको हो ।

आगलागीमा परि फर्निचर संचालक ३३ वर्षीय केशव हरिजन, वडा नम्बर ३ गुठीका ६४ वर्षीय डम्मर बहादुर कार्की घाइते भएका छन् ।
आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

आगलागीमा फर्निचरको उद्योग जलेर नष्ट हुँदा १५ लाख, आगलागी नजिकै रहेको डम्बरबहादुर कार्कीको घरको झ्याल ढोका लगाएत अन्यमा क्षती हुँदा दुई लाख र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा जल्दा साढे एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । बागलुङमा रहेको दमकलले आगो निभाउन नसकेपछि पर्वत र म्याग्दीबाट समेत दमकल मगाईएको थियो ।

राती २ बजेर ४५ मिनेट जादा भएको आगलागी जिल्ला प्रहरी कार्यालय ,विपद व्यवस्थापन गुल्म , शसस्त्र प्रहरीको टोली, स्थानीय र दमकलको सहायतामा विहान ८ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागीमा घाईते भएका हरिजन र कार्कीको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung